Tuesday, November 29, 2016

बाल जिब्रोको भाषा !

चोरीहालुँ जस्तो मुस्कान भएका, हाँस्दा गालामा
गहिरो डिम्पल बस्ने, देख्दै अबोध र निष्कपट लाग्ने जोसुकैका बालबच्चा आफ्ना झैँ लाग्छन् । अझ साना केटाकेटीलाई त देख्ने बित्तिकै च्याप्प समातेर म्वाइ खान मन लाग्छ । त्यसो त देख्ने बित्तिकै गाला चड्काइ हाल्नु जस्तो लाग्ने अनुहार पनि हुन्छन् ।
नाकमा सिगानको यत्रो मुठो तुर्लुङ झुण्ड्याएर फर्याँत फर्याँत पार्दै कट्टु तान्दै हिँड्ने केटाकेटी पनि नदेखिएका होइनन् । तर बाह्य शरीरलाई डेल्टा एक्स (negligible) मानेर बालसुलभ मनलाई टपिक बनाउनु हो भने माथिका दुई लाइन सबैलाई युक्तिसङ्गत नै लाग्छन् (नलागे यत्रैसिति) ।
मुख्य कुरो महत्वपूर्ण हुन्छ नै, त्यसैले कुरोको चुरो त उक्काउनै पर्यो । विशेषत: १६ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई हामी युवाको परिभाषा दिन्छौँ, जसअनुसार ५९ माथीका बृद्ध र त्योभन्दा मुनिका बालबालिका भए । कुरा हो साना केटाकेटीको भर्चुअल संसारको, अर्थात टेलिभिजन को । जेन्युइन्ली टिन एज पुगेपछि बच्चाहरू टेलिभिजन भन्दा बाहिर पनि केन्द्रिकृत (focused) भएको
देखिन्छ । लगभग ३ बर्षको नेटो कटेपछी मान्छेको ९०% मस्तिष्क विकास भएको हुन्छ भन्ने कुरा मेडिकल साइन्सले बताइसकेको कुरा हो । त्यसैले चर्चाको विषय ३ देखि १२ बर्ष उमेरका बच्चाको हो, टेलिभिजनले उनीहरूको मनोविज्ञानमा पारेको प्रभावको हो ।

साना दूधे केटाकेटीहरूले बातैपिच्छे हिन्दी शब्द
मिसाएर बोल्न थाले । तेरो घर कता हो भन्दा 'उस् तरफ्' भन्छन्,यसो गरौँ भन्यो 'विल्कुल नहि' भन्छन्, केही चिजको वासना आए "आऽऽऽ खुश्बु' त कसैले माया गरेर बोक्यो भने 'निचे उतारो' भन्छन् । नेपाली भाषा राम्रोसँग जानेको छैन तर हिन्दी भाषामा रिप्पु हुन लागे । यो सबै Nick च्यानलबाट प्रसारण हुने कार्टुन मोटु पत्लुको करामत हो । फेरि आमाबाउ भन्दा चम्पुत्ले हुन्छन् अहिलेका केटाकेटी । ती च्यानल लक गर्यो भने पनि आँखा झिमिक्क पार्न
नपाइ लक खोलिदिन्छन्, नेपाली च्यानल लगायो भने रोएर भाँडभैलो गर्छन् । यसबारे यसो सर्वेक्षण (survey) गर्दा मोदीले नेपाली भाषामा ट्विट लेख्यो भनेर मोदीको उछित्तो काढ्न ३ बित्ता उफ्रने अनि आफ्ना बालबच्चाले हिन्दी बोल्दा 'के हुन्छ त जिब्रो अझै फड्कारिन्छ' भन्ने अभिभावक फेला परे । यो समस्या मैले हेल्लो सरकारलाई पनि राखेँ अनि भनेँ ~~ "DishHome लगायत अन्य केबुल प्रदायकहरूलाइ हिन्दी भाषामा कार्टुन प्रसारण गर्ने च्यानल अविलम्ब बन्द गर्न चलानी काट्नु पर्यो" भनेर । तर हेल्लो सरकारले मेरो कुरालाई एक फेब सहित ससम्मान बाल हान्यो । यसो सोच्दा ठीकै गर्यो जस्तो पनि लाग्यो, कुरो उरन्ठेउलै गरेँछु जस्तो लाग्यो । यो अहिलेको एकदमै जटिल समस्या हो । आफूले नै समाधान गर्नुपर्ने समस्या हो । अहिलेको busy लाइफमा बालबच्चालाई काखीमा च्यापेर बस्न भ्याउँदैनन् बाबुआमा । त्यसैले बालबच्चालाई टेलिभिजनमा भुल्याएर काम गर्छन् । यो समस्याको समाधान होइन, यसो गर्दा बालबच्चाले जान्नुपर्ने कुरा जान्दैनन, सिक्नुपर्ने कुरा सिक्दैनन् । हाम्रा पालामा हाम्रा बाबुआमा पनि उत्तिकै व्यस्त हुन्थे, भकारो सोहोर्नु पर्थ्यो, गाईबस्तुलाई खोलेपानी गर्नुपर्थ्यो,बोरामा उजिन्डो लगाएर टुइँटुइँ हिँड्दै बेँसीसम्म पुर्याएर धान बेच्नुपर्थ्यो । काम हाम्रा बुवाआमाले पनि गरे, तर हामीले माया र स्नेह पायौँ अनि सँगसँगै संस्कृतिको महत्व चाल पायौँ । फेरि
अहिलेका ड्याडीमम्मीले माया गर्न जानेनन् भन्या होइन नि । यस्तै हुन्छ जेनेरेसन ग्यापले गर्दा भन्न खोज्या हो । केही महिना अघिको कुरा हो, झापाको एउटा
स्थानिय एफ्एम् सँग अन्तर्वाता दिँदा वरिष्ठ
भाषाविद् केदार शर्माले भन्नुभएको थियो: "आफ्ना बालबच्चालाई Apple होइन स्याउ नै खुवाउँ" तर अहिलेका बच्चाले Apple र स्याउलाई छोडेर 'सेव' खान थालेको देखिन्छ । अब यसको कन्सिक्वेन्स हेर्दा... हिन्दी केही नबुझ्ने र अङ्ग्रेजी अलिअलि बुझ्ने बाबुआमालाई बच्चाले 'मुझे सेव चाहिए' भन्यो
भने बाउआमाले उसको पलाउँदै नपलाएको दाह्री
खौरिदिनु पर्ने अवस्था आयो । मैले अङ्ग्रेजी ठीक हो, अङ्ग्रेजी चैँ पहिले सिकाउनु पर्छ भनेको पनि होइन है ! अङ्ग्रेजीको पनि ठूलो चलखेल छ यहाँ । बरू सक्दा त सिकाउनु पर्ने भाषा संस्कृत भाषा हो तर टुप्पी पाल्ने भाषा भन्दा दाह्री पाल्ने भाषा ठीक भन्ने धारणा आम जनमानसमा पाइन्छ । संस्कृतमै छ हाम्रो धर्म र यहि धर्मको महानतालाई अङ्गीकार गर्न नसकेर हाम्रो देश कुलङ्गारहरूको हातमा पुगेको छ । पाश्चात्य संस्कृतिलाई मन पराउने र हाम्रो धर्म,संस्कृतिलाई र अध्यात्मलाई लत्याउने प्रक्रियाबाट हामी लाञ्छित भइरहेका छौँ । बच्चालाई अङ्ग्रेजी Rhymes सिकाइन्छ तर 'त्वमेव माता च पिता त्वमेव' सिकाइँदैन । आफ्ना नानीले 'Baba black ship, have you any wool' भनेर गाउँदा गौरवको अनुभूति गर्ने हामी धर्म र अध्यात्मले निर्देशन गरेका वेदान्त शिक्षालाई अनुसरण गर्न गराउन पछाडि परिरहेका छौँ ।


अब के गर्ने त ? हिन्दी अङ्ग्रेजी बोल्नासाथ
बच्चाको जिब्रो थुत्ने ? होइन ! त्यसरी कहाँ समस्या समाधान हुन्छ र ? आफ्ना बच्चाको डिजिटल दुनियाँसँगको उठबस
अलि कम गरौँ, बन्देज नै लगाइहाल्नु ठीक नहोला । बच्चाको टेलिभिजन भन्दा रेडियोप्रतिको
आत्मियता बढाऔँ । रेडियोमा प्रसारण हुने बाल
कार्यक्रम प्रति बच्चाको ध्यान केन्द्रित गरौँ । बाल पत्रिकाहरू, बाल कथा, कविता पढ्न बालबच्चालाई प्रेरित गरौँ । अझै भएन भने नेपाली भाषामै दिने मुमिन लगायतका कार्टुनहरू देखाऔँ । अहिले त राष्ट्रिय च्यानल मार्फत नै मोटु पत्लु नेपाली भाषामा प्रसारण हुन्छ, त्यहि देखाए पनि त भयो । बेलैमा यो कुरामा सावधानी अपनाइएन भने भोली नेपाली भाषा लोप नै हुन सक्ने डर हावी भएको छ । भोली गएर ती साना नानीहरूलाई 'तिम्रो नाम के
हो ?' भनेर सोध्दा नेपाली भाषा नबुझेर मौन बस्नुपर्ने अवस्था सिर्जना हुन के बेर ?
बालबच्चा हिन्दी वा अङ्ग्रेजी भाषाको अम्मली
भएको राम्रो होइन । त्यसैले नेपाली भाषा
सिकाउन आफ्नो स्थानबाट जति सकिन्छ गरौँ,
जसरी हुन्छ गरौं ।
(म आफैँले पनि यो ब्लग लेख्दा बीचबीचमा टुक्रेटाक्रे अङ्ग्रेजी भाषाको प्रयोग गरेकोमा क्षमा चाहन्छु)

Saturday, August 20, 2016

'नेपाली खेलकुद' र 'माइकल फेल्प्स'

सानैदेखि अन्य विधामा भन्दा खेलकुदमा बढी रूचि राख्थेँ ।
बुवा-हजुरबुवा रेडीयोमा समाचार घन्कँदा कान थापेर
सुन्नुहुन्थ्यो तर म समाचारको अन्त्यमा आउने खेल समाचार मात्र
सुन्थेँ - मरिहत्ते गरेर । भनौँ न खेल भनिसक्दा चाहे त्यो फुटबल
होस्, क्रिकेट वा अरू कुनै खेल ~ एक किसिमको craze थियो म मा ।
तर पनि खेललाई कहिल्यै पहिलो प्राथमिकतामा राख्न सकिन... कारण
थियो परिवार र समाज । हुन पनि हो, अशिक्षा अन्धकारमय समाजको
जड हो र त्यो अन्धकारमा दीप बाल्ने काम शिक्षाले नै
गर्छ । तर यसको अर्थ यो होइन कि सबैले धुरन्धर पढ्नुपर्छ अनि
जबरजस्त तरिकाले विद्यावारिधी गर्नैपर्छ । अनि यसको अर्थ यो पनि होइन कि सबैले काम छोडेर भकुण्डो लडाउँदै हिँड्नुपर्छ वा चिर्पट चिर्न छोडेर मुङ्ग्रो लिएर क्रिकेट खेल्न जानुपर्छ । केहि त्यस्ता
प्रतिभाहरू पनि त समाजमा हुन्छन् जो पढाईमा औसत वा लद्दु नै
भएपनि अन्य कुनै क्षेत्रमा धुम् मच्चाउने ल्याकत राख्छन् । तर
हाम्रो जडसुत्रवादी समाज पढाई बाहेक अन्य कुनै पनि
क्षेत्रले कुनै अवसर ( अङ्ग्रेजीमा scope) दिँदैन भनेर
जगजाहेरी गर्दछ जसका कारण कैयौँ ओलम्पिक
मेडलहरूको भ्रुणहत्या हुने गर्छ ।
त्यसैले त अन्य राष्ट्रहरू खेल क्षेत्रमा गौरवशाली
इतिहाँस कोर्न ओलम्पिक, एशियाड लगायतका खेलका महाकुम्भमा
सहभागिता जनाउँदै गर्दा नेपालीहरू राष्ट्रिय किर्तिमान
तोड्नेजस्ता मिनि सफलताको लक्ष्य राखेर त्यो रणभुमिमा पदार्पण
गर्दछन् । म एउटा न्युन प्राणीले कराएर वा चिच्याएर त
केहि हुनेवाला छैन तर पनि भविष्यमा नेपालले खेलकुदलाई पनि
प्राथमिकतामा राखोस्, ओलम्पिकमा धेरै पदक जितोस् भनेर wish त
पक्कै पनि गर्न सक्छु । केहि बर्षयता नेपाल राष्ट्रिय क्रिकेट टिमले
आफू माथी आइपर्ने विभिन्न बाधा अड्चनहरूलाई
कसी लगाएर विपक्षी (opponent) लाई
निस्तेज पारेर अघि बढ्दै अन्तर्राष्ट्रिय उपलब्धिहरूको धरातलमा
टेक्न धेरै हदसम्म सफल भएको देखिन्छ । क्रिकेटका अलावा एकाध
खेल/खेलाडी बाहेक नेपालको खेल क्षेत्रको उपलब्धि
शुन्य प्राय छ । वास्तवमा आज मलाई खेल आकाशमा चम्किएका
athlete हरूबारे चर्चा गर्न मन थियो तर अफसोच् - कुनै त्यस्ता
नेपाली दिग्गज खेलाडी भेटिन जसले खेल
आकाशमा असामान्य (peculiar) तरिकाले दौड लगाएर नयाँ नयाँ तरङ्ग
पैदा गरे ।
त्यसैले विदेशी खेलाडीको बारेमा नै भएपनि चर्चा
गर्न मन लाग्यो र मेरो रोजाइमा परे अमेरिकी
पौडीवाज 'माइकल फेल्प्स' । म आशावादी छु कि
कुनै दिन मैले मेरै देशका खेलाडीहरूको
सनसनीपुर्ण उपलब्धीको बारेमा आफ्नै ब्लगमा
लेख्न पाउनेछु ।


    आफ्नै कुशलताका कारण आफू र आफ्नो राष्ट्रलाई सफलताको शिखरमा पुर्याउन सफल वजनदार पौडी खेलाडीको नाम हो 'माइकल फ्रेड फेल्प्स' ।
बाल्टीमोर मा जन्मिएका फेल्प्सको उमेर ९ बर्ष मात्र थियो जब उनका अभिभावकहरूको Divorce भयो । फेल्प्सले Towson High School बाट graduation गरे ।
दिदीहरूको प्रभावले गर्दा ७ बर्षको उमेरदेखि नै पौडी खेल्न सुरू गरे । उनको मेहेनतले २००० गृष्मकालिन ओलम्पिकमा सहभागिता जनाउने ढोका खोल्यो ।
तर उनले कुनै पदक ल्याएनन् ।
ओलम्पिकको मेडल-मेसिन को छवी बनाएका फेल्प्सले सन् २००४ को ओलम्पिकमा ६ स्वर्ण र २ काँश्य पदक जितेका थिए । त्यसपछि उनले पछाडी फर्केर कहिल्यै हेर्नुपरेन । सन् २००८ बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जितेका उनले २०१२ ओलम्पिकमा ४ स्वर्ण र २ रजत पदक जिते । २०१६ रियो ओलम्पिकमा पनि उनले ४ स्वर्ण पदकमा लालमोहर लगाएका छन् ।
Beijing ओलम्पिकका दौरान एउटै ओलम्पिकमा 'मार्क स्पिट्च'को ७ स्वर्णको किर्तिमानी भंग गर्दै फेल्प्सले एउटा गौरवशाली इतिहास कोरेका हुन् । उनका यस्तै चमत्कारी रेकर्डका कारण उनले "The Baltimore Bullet", "Flying Fish" जस्ता उपनाम पाएका छन् । माइकल फेल्प्स'ले ओलम्पिकका पाँच संस्करणमा सहभागिता जनाइ सकेका छन् । यसरी उनले पौडीको दुनियामा कहिल्यै नमेटिने अमिट छाप छोडेका छन् । अन्य खेलाडी भन्दा भिन्न शारीरिक संरचना भएकाले उनलाई पौडन थप सजिलो बनायो । उनको दायाँ र बायाँ हात बिचको दुरी ६ फिट ७ इन्च छ, जुन उनको उचाइ ६ फिट ४ इन्च भन्दा निकै धेरै हो र यहि लामो हातले पानीलाई पछाडी ठेलेर अगाडी बढ्न मद्दत गर्छ । त्यस्तै तुलनात्मक रूपमा छोटा गोडा भएकाले पानीले आफूलाई पार्ने असहजता कम गर्छ । उनका बडेमान'का पैतलाले पौडँदा फ्लिपरको काम गर्छन् । पानीभित्र श्वासप्रस्वास गर्न धेरैलाई अफ्ठ्यारो हुन्छ तर फेल्प्सको फोक्सो औसत मानिसको फोक्सो भन्दा दुइ गुणा ठूलो छ । जसले गर्दा उनी पानीबाट निस्कँदा अरूभन्दा कम स्याँ-स्याँ गर्छन् ।
(नोट : ओलम्पिक खेलमा नेपालले अहिलेसम्म एउटा काँश्य त के हाँस्य पदक पनि जित्न सकेको छैन । अमेरिकाका यी खेलाडी एक्लैले ४ ओलम्पिकमा २६ पदक जिते । उनको सम्मानमा यसो एक हरफ टुच्च तो बनता है ना boss ! )

Saturday, March 5, 2016

मेची क्याम्पसमा वेलकम र फेयरवेल कार्यक्रम २०७२

रातको एघार बजेसम्म घरी मोबाइल अनि घरी
किताब पढेर बिहान उठ्ने बाचासहित तीन
महिनादेखि नधोएको ध्वाँसे सुपानेट झुल टाँगेर
उत्तानो परियो । निद्राले झप्झपी बनाएकाले अनेक
थरी कुराहरू तछाड-मछाड गर्दै लर्के ताँत लाग्दै आउने
अवस्था थिएन, त्यसैले होला चाँडै निदाएँछु । भन्दा
लाज लाग्छ अनि फेरि 'अलि बढी नै स्वाङ पारिस्'
भन्नुहोला तर 6:00 बजेको अलार्म लगाएको थिए ।
"वेक अप, वेक अप, इट्स अ ब्रान्ड न्यु डे"
~~मोबाइलको त्यो आवाजलाई घँसेटी लगाएर
कँचेराले पुरिएका आँखा खोल्ने प्रयास गरेँ । लगभग एक
चौथाई निद्रालाई बालै नदिई पैताला भुईँमा
टेकाएर बाथरूम गएँ । चनाको गेडा जति 'पेप्सोडेन्ट'
ब्रसमा दलेर दाँत टल्काउने काम गरेँ, मुख धोएँ, नित्य
कर्म पुरा गरेँ । फ्रेस भएर आएँ अनि खाटको एक छेउमा
बसेँ । दाजु पढ्दै थियो... मैले पनि पढ्नका लागि
किताब तानेँ । खाना बनाउने पालो दाजुको
थियो, उसले पकायो, खाइयो । अब धेरै लम्बेतान कुरा
नलेखुम् होला । पोइन्टमा प्रवेश गरौँ ।

मेची बहुमुखी क्याम्पसमा बिएस्सी प्रथम बर्षमा पढ्ने
विद्यार्थीका लागि स्वागत कार्यक्रम र विएस्सी
चौथो बर्षमा अध्ययन गर्ने दाजु-दिदीको विदाई
कार्यक्रमा राखिएको त्यो दिन म, युवराज, अरूण
दाई र बाजिगर उर्फ विनोद साढे दश बजेतिर
क्याम्पस लाग्यौँ । दाई (विष्णु) भने एकछिनपछि
सोल्टी (निरज) दाईसँगै क्याम्पस पुग्यो । कलेज
पुग्नासाथ सानो चटक देखियो । साइन्स ब्लकको
एउटा कोठामा केही दिदी र दाईहरू आफ्नो
पहिरनको ढाडपट्टी GUU GANG लेख्न लेखाउन व्यस्त
रहेछन् । हामी पनि एकतमासले उनीहरूको चटक हेर्दै
थियौँ ।केहि समयपछी अर्जुन दाई, प्रकाश दाई
लगायत अन्य सँग हात मिलाईयो । अञ्जल दाई र
पारस दाई पनि त्यहि आईपुगे । कोही कलेज
युनिफर्ममा थिए भने केहि आउट ड्रेसमा । आज GUU
GANG उत्पत्तीको रहस्योद्घाटन हुनुपर्छ भन्दै थिए ।
मैले "GUU GANG" को ओरिजिन यसरी भएको होला
भनेर एउटा तर्क दिएँ तर कसैले सुनेन जसकारण मेरा
अमुल्य विचारले वीरगती प्राप्त गरे ।

म्यानेजमेन्ट हलमा हुन लागेको उक्त कार्यक्रममा
लगभग साढे एघार बजेतिर लोसे पारामा कार्यक्रम
सुरू हुन लाग्दै थियो । कार्यक्रम आयोजना गर्ने
दोस्रो र तेस्रो बर्षका विद्यार्थी थिए । आफु तेस्रो
बर्षमा पढ्ने भएता पनि कार्यक्रम आयोजनाको
लागि सक्रिय रूपमा लागेको थिइन । त्यत्तिकैमा हल
भित्र पसियो, ओपचारिक कार्यक्रम सुरू भयो ।
उद्घोषक झुमा बहिनी थिइन । सभापति, प्रमुख
अतिथी, विशेष अतिथी लगायत सबैलाई आसन ग्रहण
गराइयो । त्यो दिन 'सुखानी शहिद दिवश' पनि
रहेछ... शहिदको सम्झनामा एक मिनेट मौनधारण
गरियो । मौनधारणका बिचैमा कसैले बिरालो
कराएको आवाज निकाले, कसैले कुकुर भुकेको । मनमा
नरमाइलो भयो । त्यसपछी राष्ट्रगानको कार्यक्रम
भने शालिन रूपमा समाप्त भयो । लगत्तै पहिलो
बर्षका भाइबहिनीहरूलाई फूल र अविरले स्वागत
गरियो । दोस्रो बर्षमा पढ्ने एक बहिनीले स्वागत
मन्तव्य प्रस्तुत गरिन् । चौथो बर्षका केपी दाईले
आफ्ना चार बर्षदेखिका मनका कुण्ठा छताछुल्ल पारे

अब अनौपचारिक कार्यक्रम सुरू भयो । भाई पेमा
तामाङ आफ्नो समकक्षी झुमासँगै उद्घोषण गर्न आए र
एउटा दमदार गजलले सबैको ध्यान खिचे, दर्शकले
उनको फोटो खिचे । उनले यति धेरै ध्यान खिचेछन्
कि पछाडीबाट तालीको पर्रा भन्दा साइ-साइ र
सुइ-सुइको ढर्रा बढी आयो । त्यसपछीको नाचगान र
गायनमा प्रतियोगिहरूले दरिलो प्रदर्शन गरेर वाह-
वाही बटुले । पछाडी बस्ने केही हुलले भने कार्यक्रममा
केही खलबली ल्यायो । आयोजक तब राम्रो
कार्यक्रम गर्न चुक्यो । सो समयमा पछाडी बस्ने
केही विद्यार्थी साथीहरूबाट बेन्च भाँच्ने काम हुनु
कलेजप्रतिको आफ्नो गैरजिम्मेवारीपनको
पराकाष्टा थियो । मान्छे भएर सुँगुरको रवैया
अपनाउनु भनेको सम्पुर्ण मानव जातीको बेइज्जती
हो । एङ्करले माइकमा बोल्दाभन्दा ठूलो आवाज
निकालेर अरूको आवाज दबाउने कोशीश पनि
कार्यक्रमका दौरान धेरै भए ।त्यही खिच्चा
प्रवृत्तिले गर्दा पनि कार्यक्रम झन्नै बिर्सनयोग्य
बन्यो । वास्तवमा वेलकम फेयरवेल जस्ता कार्यक्रम
सबै साथीहरूबिच सन्तुलन र समदुरीको सम्बन्ध
स्थापना गर्न गरिन्छ, नाकी मोजमस्ती र हो हल्ला
गर्न ।

अघिल्ला बर्षहरूमा जुन किसिमले यस्ता कार्यक्रमा
मेची क्याम्पसमा आयोजना हुन्थे, त्यसमा यति धेरै
अमिलो हुने गरी कार्यक्रम हुँदैनथ्यो । फेरि पनि
अन्त्यमा हामीले हाम्रा अग्रज दाजुदिदीबाटै केहि
सिक्नु जरूरी छ ।
दाजुदिदी हरूलाई विदाई गर्दाको क्षण भने
अविस्मरणीय रह्यो । युनिफर्ममा आएका अधिकांस
दाजुदिदीको पहिरनमा हामीले पनि केही न केही
शुभकामना छोड्यौँ । सबै जना भावुक हुनुहुन्थ्यो त्यो
मुटु चिरिएको क्षणमा । मेरो मन पनि त्यतिबेला
भक्कानिएको थियो । चार बर्षदेखि एकोहोरो
पढाईको तनाव खेपेर शरीर फतक्कै गलेका
दाजुदिदीलाई अँगालोमा लिएर सेल्फीको मलहम
लगाइयो ।
कार्यक्रमा राम्ररी सम्पन्न भयो तर कार्यक्रमका
दौरान भएका केही कमजोरीहरू हाम्रा गल्ती हुन् ।
गल्ती गर्नु अपराध होईन तर गल्तीबाट नसिक्नु
अपराध हो । त्यसैले आगामी दिनमा यस्ता गल्ती
नदोहोर्याउने प्रतिबद्धता गरौँ । :-)

Wednesday, January 13, 2016

कमल थापा

बीबीसी नेपाली सेवा लण्डनका तत्कालिन निर्देशक रविन्द्र मिश्रले सन् २०१५ अक्टोबर ८ का दिन कार्यक्रम "नेपाल सन्दर्भ"मा बकेको कमल थापाको bio जस्ताको तस्तै -:
 उनी २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको बेलाका एकजना पञ्च-राज्यमन्त्री तर त्यतिबेला आन्दोलनकारीले फाँसीको माग गरेका उनीहरूकै शब्दमा भन्ने हो भने एकजना महा-मण्डले । तर उनी पञ्चायती व्यवस्थापछीको प्रजातान्त्रिक शासनकालका पटक-पटकका मन्त्री । मन्त्री भएपनि उनी आफ्नै सरकारका प्रधानमन्त्रीलाइ दु:ख दिन माहिर मानिन्थे किनभने बेलाबेलामा आफैँ मन्त्री भएको सरकारको विपक्षमा उभिन्थे । सरकार फेरिन्थ्यो अनि उनी फेरि मन्त्री बन्थे । उनको व्यवहारबाट दिक्क भएपछि तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले उनलाई मुसा प्रवृत्तीको राजनीतिज्ञको संज्ञा दिए जसको अर्थ हुन्थ्यो आफैँ सवार पानीजहाजमा प्वाल पार्ने, त्यहाँबाट भाग्ने अनि फेरि अर्कामा नि प्वाल पार्ने । तिनै कमल थापा पुर्व राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि उनको शासनकालमा गृहमन्त्री बने र २०६२/६३ को जनआन्दोलन दबाउनुमा उनको प्रमुख भूमिका रहेको ठानियो । राजाको शासन ढलेपछि उनी गणतन्त्र, संघियता र धर्म-निरपेक्षताको कट्टर विरोधी बने । सोही एजेण्डाको आधारमा दोस्रो संविधानसभाको निर्वाचनमा चौथो ठूलो दलका रूपमा आफ्नो पार्टी राप्रपा नेपाललाइ उठाउन सफल भए । भर्खरै घोषित नयाँ संविधानमा पनि उनले संघियता र धर्म-निरपेक्षताको विरोधमा मतदान गरे तर अब उनले जे जे मान्यताको कट्टर विरोध गरे, तिनै मान्यताको रक्षा गर्ने सरकारको वरिष्ठ सदस्य अर्थात उपप्रधान तथा परराष्ट्र मन्त्रीका रूपमा सपथ ग्रहण गरेका छन् । जस्तो सुकै परिस्थितिमा पनि आफ्नो राजनीतिक परिचय कायम राख्न सफल रहने उनलाई आज मैले साप्ताहिक नेपाल सन्दर्भका लागि कुराकानी गर्दा सोधेको थिएँ अब के गणतन्त्र, संघियता र धर्म-निरपेक्षताको तपाईँका मान्यता मरेका हुन् ?