Wednesday, January 13, 2016

कमल थापा

बीबीसी नेपाली सेवा लण्डनका तत्कालिन निर्देशक रविन्द्र मिश्रले सन् २०१५ अक्टोबर ८ का दिन कार्यक्रम "नेपाल सन्दर्भ"मा बकेको कमल थापाको bio जस्ताको तस्तै -:
 उनी २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको बेलाका एकजना पञ्च-राज्यमन्त्री तर त्यतिबेला आन्दोलनकारीले फाँसीको माग गरेका उनीहरूकै शब्दमा भन्ने हो भने एकजना महा-मण्डले । तर उनी पञ्चायती व्यवस्थापछीको प्रजातान्त्रिक शासनकालका पटक-पटकका मन्त्री । मन्त्री भएपनि उनी आफ्नै सरकारका प्रधानमन्त्रीलाइ दु:ख दिन माहिर मानिन्थे किनभने बेलाबेलामा आफैँ मन्त्री भएको सरकारको विपक्षमा उभिन्थे । सरकार फेरिन्थ्यो अनि उनी फेरि मन्त्री बन्थे । उनको व्यवहारबाट दिक्क भएपछि तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले उनलाई मुसा प्रवृत्तीको राजनीतिज्ञको संज्ञा दिए जसको अर्थ हुन्थ्यो आफैँ सवार पानीजहाजमा प्वाल पार्ने, त्यहाँबाट भाग्ने अनि फेरि अर्कामा नि प्वाल पार्ने । तिनै कमल थापा पुर्व राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि उनको शासनकालमा गृहमन्त्री बने र २०६२/६३ को जनआन्दोलन दबाउनुमा उनको प्रमुख भूमिका रहेको ठानियो । राजाको शासन ढलेपछि उनी गणतन्त्र, संघियता र धर्म-निरपेक्षताको कट्टर विरोधी बने । सोही एजेण्डाको आधारमा दोस्रो संविधानसभाको निर्वाचनमा चौथो ठूलो दलका रूपमा आफ्नो पार्टी राप्रपा नेपाललाइ उठाउन सफल भए । भर्खरै घोषित नयाँ संविधानमा पनि उनले संघियता र धर्म-निरपेक्षताको विरोधमा मतदान गरे तर अब उनले जे जे मान्यताको कट्टर विरोध गरे, तिनै मान्यताको रक्षा गर्ने सरकारको वरिष्ठ सदस्य अर्थात उपप्रधान तथा परराष्ट्र मन्त्रीका रूपमा सपथ ग्रहण गरेका छन् । जस्तो सुकै परिस्थितिमा पनि आफ्नो राजनीतिक परिचय कायम राख्न सफल रहने उनलाई आज मैले साप्ताहिक नेपाल सन्दर्भका लागि कुराकानी गर्दा सोधेको थिएँ अब के गणतन्त्र, संघियता र धर्म-निरपेक्षताको तपाईँका मान्यता मरेका हुन् ?