Wednesday, January 13, 2016

कमल थापा

बीबीसी नेपाली सेवा लण्डनका तत्कालिन निर्देशक रविन्द्र मिश्रले सन् २०१५ अक्टोबर ८ का दिन कार्यक्रम "नेपाल सन्दर्भ"मा बकेको कमल थापाको bio जस्ताको तस्तै -:
 उनी २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको बेलाका एकजना पञ्च-राज्यमन्त्री तर त्यतिबेला आन्दोलनकारीले फाँसीको माग गरेका उनीहरूकै शब्दमा भन्ने हो भने एकजना महा-मण्डले । तर उनी पञ्चायती व्यवस्थापछीको प्रजातान्त्रिक शासनकालका पटक-पटकका मन्त्री । मन्त्री भएपनि उनी आफ्नै सरकारका प्रधानमन्त्रीलाइ दु:ख दिन माहिर मानिन्थे किनभने बेलाबेलामा आफैँ मन्त्री भएको सरकारको विपक्षमा उभिन्थे । सरकार फेरिन्थ्यो अनि उनी फेरि मन्त्री बन्थे । उनको व्यवहारबाट दिक्क भएपछि तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले उनलाई मुसा प्रवृत्तीको राजनीतिज्ञको संज्ञा दिए जसको अर्थ हुन्थ्यो आफैँ सवार पानीजहाजमा प्वाल पार्ने, त्यहाँबाट भाग्ने अनि फेरि अर्कामा नि प्वाल पार्ने । तिनै कमल थापा पुर्व राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि उनको शासनकालमा गृहमन्त्री बने र २०६२/६३ को जनआन्दोलन दबाउनुमा उनको प्रमुख भूमिका रहेको ठानियो । राजाको शासन ढलेपछि उनी गणतन्त्र, संघियता र धर्म-निरपेक्षताको कट्टर विरोधी बने । सोही एजेण्डाको आधारमा दोस्रो संविधानसभाको निर्वाचनमा चौथो ठूलो दलका रूपमा आफ्नो पार्टी राप्रपा नेपाललाइ उठाउन सफल भए । भर्खरै घोषित नयाँ संविधानमा पनि उनले संघियता र धर्म-निरपेक्षताको विरोधमा मतदान गरे तर अब उनले जे जे मान्यताको कट्टर विरोध गरे, तिनै मान्यताको रक्षा गर्ने सरकारको वरिष्ठ सदस्य अर्थात उपप्रधान तथा परराष्ट्र मन्त्रीका रूपमा सपथ ग्रहण गरेका छन् । जस्तो सुकै परिस्थितिमा पनि आफ्नो राजनीतिक परिचय कायम राख्न सफल रहने उनलाई आज मैले साप्ताहिक नेपाल सन्दर्भका लागि कुराकानी गर्दा सोधेको थिएँ अब के गणतन्त्र, संघियता र धर्म-निरपेक्षताको तपाईँका मान्यता मरेका हुन् ?

Saturday, December 19, 2015

बेतुक को डायरी

घ्वार्र-घ्वार्र गर्दै मस्त निदाइरहेका मेरा कोष, कोशिकाहरूमा घण्टी बज्यो जब मोबाइलले अढाइ बजेको अलार्म बजायो । अल्छे तिघ्रो र बाक्लो मस्तिष्क पल्टीरहनै निर्देशन दिँदै थियो । अलार्म स्नुज गरेँ ; ३ बजेतिर बज्ने गरी; अनि एवम् रीत ले आधा घण्टा घुरीरहेँ । निद्रा बिथोल्ने मेसिन (मोबाइल) 'धुम्-मच्चाले' धुनको चित्कार गुन्ज्याउँदै मलाई उठाउनै प्रयासरत थियो । एक मनले त लाग्यो ~ "यो ठाँडोलाइ यहि भुइँमा झटारेर फुटाइदिउँ", तर त्यसो गर्न सकिन, किनकी त्यसलाइ त्यो काम अर्हाउने पनि म नै त थिएँ।

 करिब ३:१० भएको हुँदो हो, निद्राले जिउ छोड्दा... जसरी आत्माले मृत शरीर छोड्छ रे । एक घण्टा बाल्दा कोठाको तापक्रम लगभग ४०° C हुने फिलामेन्ट बत्ती अन गरेँ । बत्ती बल्यो-- मनमनै विद्युत प्राधिकरणलाइ धन्यवाद टक्राएँ । सिलिङ्मा मुसाहरुको दौड र बाहिरका आदिवासी कुकुरहरुको भुकाइ मेरो कानमा टड्कारो सुनिन्थ्यो । मुसाहरु त अझ यसरी दौडीरहेका थिए कि मानौँ उनीहरू एथ्लेटीक्सको १०० मि. छोटो दौड स्पर्धामा 'उसेन बोल्ट' लाई जित्ने तयारी गरिरहेका थिए । माकुराको जालोले कोठामा सानोतिनो हाइवे(Highway) नै बनाएको थियो... अँ हाइवेमा जेब्रा क्रसिङ चहिँ थिएन (:D) ।

 घरघरमा शौचालय अभियान सुरू हुनुभन्दा धेरै पहिले निर्माण गरिएको मेरो घरको शौचालय कमसेकम १५ मिनेटका लागि समय व्यतित गर्ने उत्तम ठाउँ थियो । मोबाइल गोजीमा हालेर त्यतैतिर लम्किएँ । ट्वाइलेटको ढोकाबाट मोबाइल छिर्दैन भनेर डराउनुपर्ने अवस्था थिएन किनकी मोबाइलको स्क्रिन छोटो थियो । भित्र पसेर एक लट फेसबुक लग-इन गरेँ । अघिल्लो दिन वालमा टाँसेको एउटा पितुर्के स्टाटस १५ जनाले लाइक गरेका रहेछन् । हावाकट् स्टाटस भएनी मेरो मन राख्नैका लागि स्टाटस मन पराइदिनेलाइ फ्ल्याट्-फ्ल्याट् धन्यवाद दिएँ (मनमनै) । रूघामार्कीले नाक घिरौँला जस्तो फुलेकोले पनि होला, ट्वाइलेटको गन्ध खासै आएको थिएन । सुर्यनारायण उदाएका थिएनन्... त्यसैले निद्रादेवीले घरका कसैलाइ ब्रेकअप दिएकी थिइनन् - नभए त बाहिरबाट ढोकामा लात्ती ले भ्वाक्क हानेर "छिटो निस्की" भनीसक्थे । आँsss , अब के को हतार भन्दै एक लट ट्विटर खोली हेरेँ । खोइ कसले हो यस्तो ट्विट लेख्या रहेछ -- "कुकुरलाइ दिशा गर्न ३० सेकेन्ड लाग्छ, भैँसीलाइ एक मिनेट... हामी विवेकशील कहलिएका मानिस जो समयको महत्वको बारे भाषण छाँट्दै हिँड्छौँ, ट्वाइलेट मै पन्ध्र मिनेट बिताइदिन्छौँ ।" लाजै लागेर आयो, धोएर बाहिर निस्किएँ । पढ्ने हो अब चहिँ भनेर टाँडमाथी चढेँ, कोठामा पुगेपछी त - खोयाको पढ्छ ? सुत्ने हो अब भन्दै सुतियो... साढे छ सम्म ।