Saturday, August 20, 2016

'नेपाली खेलकुद' र 'माइकल फेल्प्स'

सानैदेखि अन्य विधामा भन्दा खेलकुदमा बढी रूचि राख्थेँ ।
बुवा-हजुरबुवा रेडीयोमा समाचार घन्कँदा कान थापेर
सुन्नुहुन्थ्यो तर म समाचारको अन्त्यमा आउने खेल समाचार मात्र
सुन्थेँ - मरिहत्ते गरेर । भनौँ न खेल भनिसक्दा चाहे त्यो फुटबल
होस्, क्रिकेट वा अरू कुनै खेल ~ एक किसिमको craze थियो म मा ।
तर पनि खेललाई कहिल्यै पहिलो प्राथमिकतामा राख्न सकिन... कारण
थियो परिवार र समाज । हुन पनि हो, अशिक्षा अन्धकारमय समाजको
जड हो र त्यो अन्धकारमा दीप बाल्ने काम शिक्षाले नै
गर्छ । तर यसको अर्थ यो होइन कि सबैले धुरन्धर पढ्नुपर्छ अनि
जबरजस्त तरिकाले विद्यावारिधी गर्नैपर्छ । अनि यसको अर्थ यो पनि होइन कि सबैले काम छोडेर भकुण्डो लडाउँदै हिँड्नुपर्छ वा चिर्पट चिर्न छोडेर मुङ्ग्रो लिएर क्रिकेट खेल्न जानुपर्छ । केहि त्यस्ता
प्रतिभाहरू पनि त समाजमा हुन्छन् जो पढाईमा औसत वा लद्दु नै
भएपनि अन्य कुनै क्षेत्रमा धुम् मच्चाउने ल्याकत राख्छन् । तर
हाम्रो जडसुत्रवादी समाज पढाई बाहेक अन्य कुनै पनि
क्षेत्रले कुनै अवसर ( अङ्ग्रेजीमा scope) दिँदैन भनेर
जगजाहेरी गर्दछ जसका कारण कैयौँ ओलम्पिक
मेडलहरूको भ्रुणहत्या हुने गर्छ ।
त्यसैले त अन्य राष्ट्रहरू खेल क्षेत्रमा गौरवशाली
इतिहाँस कोर्न ओलम्पिक, एशियाड लगायतका खेलका महाकुम्भमा
सहभागिता जनाउँदै गर्दा नेपालीहरू राष्ट्रिय किर्तिमान
तोड्नेजस्ता मिनि सफलताको लक्ष्य राखेर त्यो रणभुमिमा पदार्पण
गर्दछन् । म एउटा न्युन प्राणीले कराएर वा चिच्याएर त
केहि हुनेवाला छैन तर पनि भविष्यमा नेपालले खेलकुदलाई पनि
प्राथमिकतामा राखोस्, ओलम्पिकमा धेरै पदक जितोस् भनेर wish त
पक्कै पनि गर्न सक्छु । केहि बर्षयता नेपाल राष्ट्रिय क्रिकेट टिमले
आफू माथी आइपर्ने विभिन्न बाधा अड्चनहरूलाई
कसी लगाएर विपक्षी (opponent) लाई
निस्तेज पारेर अघि बढ्दै अन्तर्राष्ट्रिय उपलब्धिहरूको धरातलमा
टेक्न धेरै हदसम्म सफल भएको देखिन्छ । क्रिकेटका अलावा एकाध
खेल/खेलाडी बाहेक नेपालको खेल क्षेत्रको उपलब्धि
शुन्य प्राय छ । वास्तवमा आज मलाई खेल आकाशमा चम्किएका
athlete हरूबारे चर्चा गर्न मन थियो तर अफसोच् - कुनै त्यस्ता
नेपाली दिग्गज खेलाडी भेटिन जसले खेल
आकाशमा असामान्य (peculiar) तरिकाले दौड लगाएर नयाँ नयाँ तरङ्ग
पैदा गरे ।
त्यसैले विदेशी खेलाडीको बारेमा नै भएपनि चर्चा
गर्न मन लाग्यो र मेरो रोजाइमा परे अमेरिकी
पौडीवाज 'माइकल फेल्प्स' । म आशावादी छु कि
कुनै दिन मैले मेरै देशका खेलाडीहरूको
सनसनीपुर्ण उपलब्धीको बारेमा आफ्नै ब्लगमा
लेख्न पाउनेछु ।


    आफ्नै कुशलताका कारण आफू र आफ्नो राष्ट्रलाई सफलताको शिखरमा पुर्याउन सफल वजनदार पौडी खेलाडीको नाम हो 'माइकल फ्रेड फेल्प्स' ।
बाल्टीमोर मा जन्मिएका फेल्प्सको उमेर ९ बर्ष मात्र थियो जब उनका अभिभावकहरूको Divorce भयो । फेल्प्सले Towson High School बाट graduation गरे ।
दिदीहरूको प्रभावले गर्दा ७ बर्षको उमेरदेखि नै पौडी खेल्न सुरू गरे । उनको मेहेनतले २००० गृष्मकालिन ओलम्पिकमा सहभागिता जनाउने ढोका खोल्यो ।
तर उनले कुनै पदक ल्याएनन् ।
ओलम्पिकको मेडल-मेसिन को छवी बनाएका फेल्प्सले सन् २००४ को ओलम्पिकमा ६ स्वर्ण र २ काँश्य पदक जितेका थिए । त्यसपछि उनले पछाडी फर्केर कहिल्यै हेर्नुपरेन । सन् २००८ बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जितेका उनले २०१२ ओलम्पिकमा ४ स्वर्ण र २ रजत पदक जिते । २०१६ रियो ओलम्पिकमा पनि उनले ४ स्वर्ण पदकमा लालमोहर लगाएका छन् ।
Beijing ओलम्पिकका दौरान एउटै ओलम्पिकमा 'मार्क स्पिट्च'को ७ स्वर्णको किर्तिमानी भंग गर्दै फेल्प्सले एउटा गौरवशाली इतिहास कोरेका हुन् । उनका यस्तै चमत्कारी रेकर्डका कारण उनले "The Baltimore Bullet", "Flying Fish" जस्ता उपनाम पाएका छन् । माइकल फेल्प्स'ले ओलम्पिकका पाँच संस्करणमा सहभागिता जनाइ सकेका छन् । यसरी उनले पौडीको दुनियामा कहिल्यै नमेटिने अमिट छाप छोडेका छन् । अन्य खेलाडी भन्दा भिन्न शारीरिक संरचना भएकाले उनलाई पौडन थप सजिलो बनायो । उनको दायाँ र बायाँ हात बिचको दुरी ६ फिट ७ इन्च छ, जुन उनको उचाइ ६ फिट ४ इन्च भन्दा निकै धेरै हो र यहि लामो हातले पानीलाई पछाडी ठेलेर अगाडी बढ्न मद्दत गर्छ । त्यस्तै तुलनात्मक रूपमा छोटा गोडा भएकाले पानीले आफूलाई पार्ने असहजता कम गर्छ । उनका बडेमान'का पैतलाले पौडँदा फ्लिपरको काम गर्छन् । पानीभित्र श्वासप्रस्वास गर्न धेरैलाई अफ्ठ्यारो हुन्छ तर फेल्प्सको फोक्सो औसत मानिसको फोक्सो भन्दा दुइ गुणा ठूलो छ । जसले गर्दा उनी पानीबाट निस्कँदा अरूभन्दा कम स्याँ-स्याँ गर्छन् ।
(नोट : ओलम्पिक खेलमा नेपालले अहिलेसम्म एउटा काँश्य त के हाँस्य पदक पनि जित्न सकेको छैन । अमेरिकाका यी खेलाडी एक्लैले ४ ओलम्पिकमा २६ पदक जिते । उनको सम्मानमा यसो एक हरफ टुच्च तो बनता है ना boss ! )

Sunday, March 6, 2016

मेची क्याम्पसमा वेलकम र फेयरवेल कार्यक्रम २०७२

रातको एघार बजेसम्म घरी मोबाइल अनि घरी
किताब पढेर बिहान उठ्ने बाचासहित तीन
महिनादेखि नधोएको ध्वाँसे सुपानेट झुल टाँगेर
उत्तानो परियो । निद्राले झप्झपी बनाएकाले अनेक
थरी कुराहरू तछाड-मछाड गर्दै लर्के ताँत लाग्दै आउने
अवस्था थिएन, त्यसैले होला चाँडै निदाएँछु । भन्दा
लाज लाग्छ अनि फेरि 'अलि बढी नै स्वाङ पारिस्'
भन्नुहोला तर 6:00 बजेको अलार्म लगाएको थिए ।
"वेक अप, वेक अप, इट्स अ ब्रान्ड न्यु डे"
~~मोबाइलको त्यो आवाजलाई घँसेटी लगाएर
कँचेराले पुरिएका आँखा खोल्ने प्रयास गरेँ । लगभग एक
चौथाई निद्रालाई बालै नदिई पैताला भुईँमा
टेकाएर बाथरूम गएँ । चनाको गेडा जति 'पेप्सोडेन्ट'
ब्रसमा दलेर दाँत टल्काउने काम गरेँ, मुख धोएँ, नित्य
कर्म पुरा गरेँ । फ्रेस भएर आएँ अनि खाटको एक छेउमा
बसेँ । दाजु पढ्दै थियो... मैले पनि पढ्नका लागि
किताब तानेँ । खाना बनाउने पालो दाजुको
थियो, उसले पकायो, खाइयो । अब धेरै लम्बेतान कुरा
नलेखुम् होला । पोइन्टमा प्रवेश गरौँ ।

मेची बहुमुखी क्याम्पसमा बिएस्सी प्रथम बर्षमा पढ्ने
विद्यार्थीका लागि स्वागत कार्यक्रम र विएस्सी
चौथो बर्षमा अध्ययन गर्ने दाजु-दिदीको विदाई
कार्यक्रमा राखिएको त्यो दिन म, युवराज, अरूण
दाई र बाजिगर उर्फ विनोद साढे दश बजेतिर
क्याम्पस लाग्यौँ । दाई (विष्णु) भने एकछिनपछि
सोल्टी (निरज) दाईसँगै क्याम्पस पुग्यो । कलेज
पुग्नासाथ सानो चटक देखियो । साइन्स ब्लकको
एउटा कोठामा केही दिदी र दाईहरू आफ्नो
पहिरनको ढाडपट्टी GUU GANG लेख्न लेखाउन व्यस्त
रहेछन् । हामी पनि एकतमासले उनीहरूको चटक हेर्दै
थियौँ ।केहि समयपछी अर्जुन दाई, प्रकाश दाई
लगायत अन्य सँग हात मिलाईयो । अञ्जल दाई र
पारस दाई पनि त्यहि आईपुगे । कोही कलेज
युनिफर्ममा थिए भने केहि आउट ड्रेसमा । आज GUU
GANG उत्पत्तीको रहस्योद्घाटन हुनुपर्छ भन्दै थिए ।
मैले "GUU GANG" को ओरिजिन यसरी भएको होला
भनेर एउटा तर्क दिएँ तर कसैले सुनेन जसकारण मेरा
अमुल्य विचारले वीरगती प्राप्त गरे ।

म्यानेजमेन्ट हलमा हुन लागेको उक्त कार्यक्रममा
लगभग साढे एघार बजेतिर लोसे पारामा कार्यक्रम
सुरू हुन लाग्दै थियो । कार्यक्रम आयोजना गर्ने
दोस्रो र तेस्रो बर्षका विद्यार्थी थिए । आफु तेस्रो
बर्षमा पढ्ने भएता पनि कार्यक्रम आयोजनाको
लागि सक्रिय रूपमा लागेको थिइन । त्यत्तिकैमा हल
भित्र पसियो, ओपचारिक कार्यक्रम सुरू भयो ।
उद्घोषक झुमा बहिनी थिइन । सभापति, प्रमुख
अतिथी, विशेष अतिथी लगायत सबैलाई आसन ग्रहण
गराइयो । त्यो दिन 'सुखानी शहिद दिवश' पनि
रहेछ... शहिदको सम्झनामा एक मिनेट मौनधारण
गरियो । मौनधारणका बिचैमा कसैले बिरालो
कराएको आवाज निकाले, कसैले कुकुर भुकेको । मनमा
नरमाइलो भयो । त्यसपछी राष्ट्रगानको कार्यक्रम
भने शालिन रूपमा समाप्त भयो । लगत्तै पहिलो
बर्षका भाइबहिनीहरूलाई फूल र अविरले स्वागत
गरियो । दोस्रो बर्षमा पढ्ने एक बहिनीले स्वागत
मन्तव्य प्रस्तुत गरिन् । चौथो बर्षका केपी दाईले
आफ्ना चार बर्षदेखिका मनका कुण्ठा छताछुल्ल पारे

अब अनौपचारिक कार्यक्रम सुरू भयो । भाई पेमा
तामाङ आफ्नो समकक्षी झुमासँगै उद्घोषण गर्न आए र
एउटा दमदार गजलले सबैको ध्यान खिचे, दर्शकले
उनको फोटो खिचे । उनले यति धेरै ध्यान खिचेछन्
कि पछाडीबाट तालीको पर्रा भन्दा साइ-साइ र
सुइ-सुइको ढर्रा बढी आयो । त्यसपछीको नाचगान र
गायनमा प्रतियोगिहरूले दरिलो प्रदर्शन गरेर वाह-
वाही बटुले । पछाडी बस्ने केही हुलले भने कार्यक्रममा
केही खलबली ल्यायो । आयोजक तब राम्रो
कार्यक्रम गर्न चुक्यो । सो समयमा पछाडी बस्ने
केही विद्यार्थी साथीहरूबाट बेन्च भाँच्ने काम हुनु
कलेजप्रतिको आफ्नो गैरजिम्मेवारीपनको
पराकाष्टा थियो । मान्छे भएर सुँगुरको रवैया
अपनाउनु भनेको सम्पुर्ण मानव जातीको बेइज्जती
हो । एङ्करले माइकमा बोल्दाभन्दा ठूलो आवाज
निकालेर अरूको आवाज दबाउने कोशीश पनि
कार्यक्रमका दौरान धेरै भए ।त्यही खिच्चा
प्रवृत्तिले गर्दा पनि कार्यक्रम झन्नै बिर्सनयोग्य
बन्यो । वास्तवमा वेलकम फेयरवेल जस्ता कार्यक्रम
सबै साथीहरूबिच सन्तुलन र समदुरीको सम्बन्ध
स्थापना गर्न गरिन्छ, नाकी मोजमस्ती र हो हल्ला
गर्न ।

अघिल्ला बर्षहरूमा जुन किसिमले यस्ता कार्यक्रमा
मेची क्याम्पसमा आयोजना हुन्थे, त्यसमा यति धेरै
अमिलो हुने गरी कार्यक्रम हुँदैनथ्यो । फेरि पनि
अन्त्यमा हामीले हाम्रा अग्रज दाजुदिदीबाटै केहि
सिक्नु जरूरी छ ।
दाजुदिदी हरूलाई विदाई गर्दाको क्षण भने
अविस्मरणीय रह्यो । युनिफर्ममा आएका अधिकांस
दाजुदिदीको पहिरनमा हामीले पनि केही न केही
शुभकामना छोड्यौँ । सबै जना भावुक हुनुहुन्थ्यो त्यो
मुटु चिरिएको क्षणमा । मेरो मन पनि त्यतिबेला
भक्कानिएको थियो । चार बर्षदेखि एकोहोरो
पढाईको तनाव खेपेर शरीर फतक्कै गलेका
दाजुदिदीलाई अँगालोमा लिएर सेल्फीको मलहम
लगाइयो ।
कार्यक्रमा राम्ररी सम्पन्न भयो तर कार्यक्रमका
दौरान भएका केही कमजोरीहरू हाम्रा गल्ती हुन् ।
गल्ती गर्नु अपराध होईन तर गल्तीबाट नसिक्नु
अपराध हो । त्यसैले आगामी दिनमा यस्ता गल्ती
नदोहोर्याउने प्रतिबद्धता गरौँ । :-)