Showing posts with label Osho. Show all posts
Showing posts with label Osho. Show all posts

Saturday, February 28, 2026

तिमी जस्तो छौ, तिम्रो मौलिकता त्यसैमा छ

आदर्श जीवन बाँच्न खोज्दा असहजता पैदा हुन्छ। वास्तवमा मानिस पाखण्डी हुनु, असहज हुनु, जटिल हुनु आदर्श जीवनको खोजी गर्नाले हो। मानिसहरू एकअर्कालाई आदर्श जीवन बाँच्ने सल्लाह दिइरहेका हुन्छन्। आमाबुबाले छोराछोरीलाई सिकाउँछन् कि तिमी यस्तो बन्नु... तिमी उस्तो बन्नु... तिमी बुद्ध जस्तो बन्नु... अनि तिमी सिकन्दर जस्तो बन्नु... आदि। कुनै छोराछोरीलाई आफ्ना आमाबुवाले यो भन्दैनन् कि “तिमी अरू कोही जस्तो बन्नु पर्दैन, तिमी आफूजस्तै बन्नु”।

तिमी जस्तो छौ, त्यसरी नै बाँच्नु

बुद्ध, सिकन्दर, महावीर इतिहाँसमा थिए, उनीहरू सुन्दर थिए, महिमापूर्ण थिए। तर उनीहरूबाट कुनै एउटा कुरा सिक्नुपर्ने छ भने यही सिक्नु कि – उनीहरूले आफ्नो जीवन आफ्नै निजतामा बाँचे, तपाईँ पनि आफ्नो जीवन आफ्नै निजतामा बाँच्नु। कसैको आचरण नगर्नु, अनुकरण नगर्नु। अनुकरण र आचरणले मस्तिष्कमा द्वन्द्व पैदा गर्छ र व्यक्तिलाई कृत्रिम बनाइदिन्छ। तपाईँ तपाईँ रहनुहुन्न। तपाईँको शरीर र आत्मा नै भिन्नाभिन्नै ठाउँमा भएजस्तो हुनेछ। अर्थात् खण्डित भएजस्तो हुनेछ। अनि खण्डित हुनु भनेको असहजता हो।

सहजतामा बाँच्नुको अर्थ हुन्छ: अखण्ड बाँच्नु। तपाईँ जस्तो हुनुहुन्छ, ठीक त्यसै गरी बाँच्नु। मनन् गर्नुस् त यो कुरा। यो एकदमै बहुमूल्य कुरा हो। तपाईँ जस्तो हुनुहुन्छ ठीक त्यसै प्रकारले जीवन बाँच्नुस्। खराब भए खराब, असल भए असल। तपाईँ सम्पूर्ण संसारलाई आफ्नो वस्तुस्थिति प्रति जानकार हुन दिनुहोस्। तपाईँ संसारलाई आफ्नो कृत्रिमताको आवरण मिल्काएर वास्तविक अनुहार देखाइदिनुस्। भनिदिनुस् संसारलाई – म यस्तै छु। यही मेरो नियति हो। मलाई परमात्माले नै यस्तै बनाए। संसारले स्वीकार गर्यो भने ठीक छ, अस्वीकार गरे पनि ठीकै छ।

जब तपाईँ चाहानुहुन्छ कि दुनियाले मलाई स्वीकार गरोस्, तब नै अड्चन सुरू हुन्छ। तब यो हुन्छ कि दुनियाले जस्तो इच्छा गर्छ, तपाईँले त्यस्तै बन्नुपर्छ। जब तपाईँको चाहना – ‘दुनियाले मलाई सम्मान देओस्’ भन्ने हुन्छ, त्यति नै बेला अड्चन सुरू हुन्छ, किनकी दुनियाले आफ्नो शर्तको आधारमा सम्मान दिन्छ। उसको शर्त पूरा गरे तपाईँलाई सम्मान दिन्छ, शर्त पूरा नगरे असम्मान गर्छ।
जुन व्यक्तिले केही बन्ने इच्छा गर्छ, ऊ भयग्रस्त बन्छ। जो भयग्रस्त बन्छ, कमजोर बन्छ, बुझ्दा हुन्छ कि त्यसले आफ्नो आत्मा नै गुमायो। केही वा कोही बन्ने इच्छा नगरे तपाईँ आफैँ पर्याप्त बन्नुहुनेछ। परमात्माले आफ्नो दृष्टिमा तपाईँलाई अङ्गीकार गर्नुभएको छ, अन्यथा तपाईँको अस्तित्व नै रहने थिएन। परमात्माले तपाईँलाई स्वीकार गर्नुभएको छ।

'जुनेद'को जीवन सम्बन्धी एउटा कथा छ। जुनेद नयाँ गाउँमा आएर बस्न सुरू गर्यो। ऊ सूफी सन्त थियो, नामी सन्त थियो। उसको छिमेकमा एक दुष्ट र उपद्रवी व्यक्ति थियो। दुई-चार दिन त जुनेदले झेल्यो त्यस व्यक्तिलाई। तर केही दिनपछि उसलाई यो कुरा असह्य भयो। एउटा साँझ प्रार्थनाको‌ क्रममा जुनेदले भन्यो: हे प्रभु! यो व्यक्तिलाई समाप्त गरिदिनुहोस्। यो व्यक्तिको के आवश्यकता छ दुनियालाई? यो मेरो छिमेकी तर उपद्रो सिवाय यसले केही जान्दैन। यसले तपाईँका भक्तहरूलाई सताउँछ, दु:ख दिन्छ।
जुनेदलाई कहिल्यै कुनै पनि प्रार्थनामा परमात्माबाट उत्तर आएको थिएन तर त्यस दिन उत्तर आयो। परमात्माले भन्नुभयो: “जुनेद! तँ यो मान्छेको सङ्गतमा आएको चार दिन भयो। म यस व्यक्तिसँग ६० वर्षदेखि सँगै छु। ६० वर्षदेखि यो मेरो छिमेकी छ, किनकी मेरा त सबै छिमेकी! म ६० वर्षदेखि यसलाई झेलीरहेको छु, तैँले चार दिन झेल्न सकिनस्? जब म यस व्यक्तिलाई ६० वर्षदेखि झेलिरहेको छु भनेपछि यसमा केही कारण छ, केही रहस्य छ। तैँले प्रार्थना गर्नु अघि कमसेकम यो त सोच्नु पर्थ्यो, कि जो परमात्मालाई स्वीकार्य छ, उसबाट मलाई के गुनासो हुन सक्छ र?” जुनेदले त्यस दिन देखि फेरि कुनै व्यक्तिको सुधारको प्रार्थना गरेन, किनकी सबै कुरा परमात्माको मर्जीले हुँदैछ। जस्तो छ, जे छ, ठीक छ। यसलाई बदल्ने हामी को?

एकपटक केही व्यक्तिहरूले एउटी स्त्रीलाई लिएर जिसस क्राइस्टका अगाडि उपस्थित भएर भने — “यो स्त्रीले व्यभिचार गरेकी छे र हाम्रो शास्त्रमा व्यभिचारीलाई ढुङ्गाले हिर्काएर हत्या गरिदिनुपर्छ भन्ने लेखिएको छ। तपाईँ के भन्नुहुन्छ?”
जिसस त्यसबेला नदीको किनारमा बसेका थिए। जिसस गहिरो सोचमा परे। ढुङ्गाले हिर्काएर मान्छे मार्ने आज्ञा दिए त हिंसा हुन्छ। फेरि उनको प्रेमको सिद्धान्त त्यसपछि कसले मान्ला? “होइन! क्षमा गर्देउ” भन्दा मानिसहरूले उनलाई शास्त्र विरोधी भनेर उल्टै त्यही ढुङ्गाले उनकै टाउको ताक्लान्। वास्तवमा मान्छेहरू यही नै चाहान्थे। ती मानिसहरू जिससलाई खोज्दै यसकारण आएका थिए कि यदि जिससले क्षमा गरिदेउ भनेर भने त्यो ढुङ्गाले जिससलाई नै मार्ने र यदि जिससले त्यस स्त्रीलाई मार्ने आज्ञा दिए त्यो स्त्रीलाई पनि मार्ने र जिससलाई भन्ने: “के भयो तिम्रो प्रेमलाई? तिम्रो करूणालाई? कहाँ गयो तिम्रो करूणा? कहाँ गयो तिम्रो प्रेम? तिमी पनि ढोङ्गी रहेछौ।”
तर उनीहरूलाई थाहा थिएन कि जिससले के उत्तर दिन्छन् भन्ने। जिससले भने — ठीक भन्छन् पुराना शास्त्रहरू। ठीक नै भन्छन् होला। उठाउ ढुङ्गा र यो स्त्रीको हत्या गरिदेउ तर ढुङ्गा तिनै व्यक्तिले मात्र हानुन् जसले कहिल्यै व्यभिचार गरेको नहोस् र कहिल्यै व्यभिचारको विचार पनि गरेको नहोस्।

त्यो भिडको अगाडि उभिएका गाउँका पञ्च, मेयर, म्युनिसिपल कमिटीका सदस्य आदि हतार-हतार पछाडि सरे। किनकी गाउँका सबैलाई एकअर्काको हर्कत थाहा छ। सबैले सबैलाई चिनेको छ। यदि व्यभिचार नगरेको भए पनि विचार त गरेकै छ। यस्तो व्यक्ति त खोज्न नै कठिन छ जसले व्यभिचारको विचार नै नगरेको होस्; जो मोहित भएको नहोस्, आकर्षित भएको नहोस्। उनीहरू चुपचाच पछाडि सरे। बिस्तारै-बिस्तारै त्यहाँ आएका मानिसहरूका हातमा रहेका ढुंगाहरू उनीहरूले त्यहीँ फाल्न थाले। क्रमशः मानिसहरू हराउँदै गए। साँझ पर्न लागेको थियो, सूर्य अस्ताउँदै थियो। सूर्य अस्ताएपछि अँध्यारो बढ्दै जाँदा मानिसहरू त्यहाँबाट भाग्न थाले। अन्ततः ती स्त्री एक्लै बाँकी रहिन्।
त्यो स्त्रीले जिससको चरणमा टाउको राखेर भनिन्—
“तपाईं मलाई जे सजाय दिन चाहनुहुन्छ दिनुहोस्। म व्यभिचारिणी हुँ। म स्वीकार गर्छु, म पापिनी हुँ। तर तपाईंको करुणाले मेरो हृदयलाई द्रवित गरिदिएको छ। तपाईं जे निर्णय गर्नुहुन्छ, म स्वीकार गर्छु।”
जिससले भन्नुभयो—
“म को हुँ सजाय दिने? म तिमी र तिम्रो परमात्माको बीचमा पर्ने को हुँ? तिमी आफैँ जान, तिम्रो कर्मले जान्नेछ र तिम्रो परमात्माले जान्नेछ। म कुनै निर्णय गर्दिनँ। यदि तिमीलाई लाग्छ कि तिमीले गल्ती गर्यौ, अबदेखि त्यो काम नगर। यदि तिमीलाई लाग्छ कि तिमीले ठीक गर्यौ, त्यसैलाई निरन्तरता देऊ। अन्तिम निर्णय परमात्माले गर्नेछन्। तिमी र परमात्माबीचको निर्णयमा कुनै बीचौलिया हुँदैन। अब जाऊ।”

के तपाईँले यस कुरामा ध्यान दिनुभएको छ?
क्राइस्टको एउटा प्रसिद्ध वचन छ — बुराइको पनि निन्दा नगर। किन? किनकि यदि परमात्माले नै संसार सञ्चालन गरिरहनुभएको छ भने त्यसको पनि कुनै कारण अवश्य हुन्छ। मुख्य कुरा भनेको आफ्नो भित्री चेतनामा जाग्नु र आफ्नो स्वभावअनुसार जीवन जिउनु हो।

“सहज जुगति ले आसण करौ।”
अर्थात्, यदि तपाइँको जीवन सहज भयो भने त्यही नै सच्चा आसन हो। केवल पलेँटी कसेर वा सिद्धासनमा बसेर मात्र सच्चा आसन हुँदैन। त्यो त अभ्यास हो, व्यायाम हो। शरीरका लागि राम्रो छ, स्वास्थ्यका लागि उपयोगी छ; तर त्यसबाट आत्माको अनुभव हुँदैन। जब सहजता र निजतामा मन स्थिर हुन्छ, त्यहीँबाट आत्मानुभूति सुरू हुन्छ।
“तन मन पवना दिढ करि धरी।”
अर्थात्, त्यसपछि शरीर, मन र श्वास आफैँ स्थिर र सन्तुलित हुन थाल्छन्। त्यसैले सहज भएर बाँच्नुहोस्।

तपाईँले विचार गर्नुभयो भने थाहा हुन्छ — जब तपाईँ झुट बोल्नुहुन्छ, तपाईँको श्वास अस्थिर हुन्छ। ध्यान दिएर हेर्नु। झुट बोल्दा श्वासको लय बिग्रन्छ। तर सत्य बोल्दा श्वासको लय कायम रहन्छ। यही आधारमा वैज्ञानिकहरूले झुट पत्ता लगाउने मेसिन बनाएका छन्। अदालतहरूमा यसको प्रयोग पनि गरिन्छ। मानिसलाई थाहै नहुने गरी उसको खुट्टामुनि मेसिन राखिन्छ। अदालतमा उभ्याउँदा मजिस्ट्रेटको अगाडि ग्राफ बन्न थाल्छ— ठीक मुटुको कार्डियोग्राम जस्तै। उसलाई सोधिन्छ, “अहिले कति बजेको छ?” ऊ सत्य बोल्छ। फेरि सोधिन्छ, “यहाँ कति जना मानिस छन्?” ऊ गनेर बताउँछ। यस्ता केही प्रश्न सोधिन्छ जसमा झुट बोल्ने कारण हुँदैन। पछि मुख्य प्रश्न सोधिन्छ— “के तिमीले चोरी गर्यौ?”
यदि उसले चोरी गरेको छ भने भित्रको हृदयले “हो” भन्छ, तर डरले उसले “हो” लाई दबाएर मुखले “होइन” भन्छ। यही क्षणमा श्वास अस्थिर हुन्छ, ग्राफ बिग्रन्छ, र झुट पत्ता लाग्छ। श्वास अस्थिर नगरी कसैले झुट बोल्न सक्दैन।

जो मानिस सत्य र सहजतामा बाँच्दछ, उसको श्वास क्रमशः स्थिर र गहिरो हुँदै जान्छ। तपाईँलाई अचम्म लाग्न सक्छ— ध्यानको एक अवस्थामा श्वास पूर्ण रूपमा रोकिएजस्तो हुन्छ। यदि ध्यानमा बसेको मानिसको अगाडि ऐना राखियो भने ऐनामा श्वासको बाफ देखिँदैन। सामान्य अवस्थामा नाक नजिक ऐना ल्याउँदा बाफले ऐना ढाकिन्छ; तर गहिरो ध्यानमा यस्तो हुँदैन। कहिलेकाहीँ ध्यानमा जाने मानिस डराउँछ— “म मर्न त लागेको होइन?”
तर डराउनु पर्दैन। तपाईँ मर्दै हुनुहुन्न; बरू पहिलो पटक गहिरो जीवनको स्पर्श गरिरहनुभएको हुन्छ। सबै स्थिर हुन्छ— श्वास समेत। यति गहिरो शान्ति हुन्छ कि सम्पूर्ण हलचल रोकिएजस्तो लाग्छ।

— ओशोको प्रवचनलाई नेपालीमा अनुवाद गरिएको