Monday, May 12, 2025

हजार आँखा यी आँखामा — समीक्षा

पढ्दै जाँदा मुटुमा गढेको: प्रेमिल भावनाले भरिएको एक अनुपम कृति

आकारमा छरितो भएकोले होला, खासै पढ्ने इच्छा नहुँदा नहुँदै पनि यो किताबका पाना पल्टाएँ। 

हजार आँखा यी आँखामा कविता संग्रहको आवरण
पुस्तकको आवरण पृष्ठ

मनले दुई चार पाना पढेर झ्याउ लागेपछि एकातिर मिल्काउने सल्लाह दिँदै थियो। जब मैले यो पुस्तक पढ्न सुरू गरेँ, एकाएक मन प्रफुल्ल हुँदै गयो। किताबभित्र प्रेमिल गीतहरूको यस्तो समृद्ध सङ्ग्रह भेटिएला भन्ने कल्पना पनि थिएन।

प्रेममा आकाशे झरीले क्याटालिस्टको काम गर्छ सायद! बाहिर परेको झरीले गर्दा हातका औँलालाई जिब्रोमा छुवाउँदै किताबको बटम राइट कर्नरमा राम्रै दबाब दिन सुरू गरियो। दुई चार पन्ना पढेर यत्तिकै छोड्छु भनी सोच बनाएको किताबलाई रेटिनाले पुरै स्क्यान गरेर सिध्यायो।

पढिसकेपछि मैले यसअघि यो जत्तिको चित्ताकर्षक कुन पुस्तक पढेको थिएँ भनेर सोचेँ तर याद गर्न सकिन।

यो कृतिमा प्रेम छ, मर्म छ, भाव छ, पवित्रता छ, मिठास छ। यो कृति प्रेमले सुसज्जित छ—केवल एकप्रकारको प्रेम होइन—बाल्यकालको, यौवनको, वृद्धावस्थाको, स्थूल र सूक्ष्म चेतनाको, सबै तहको प्रेम। कतै यसले देवकोटाको ‘मुनामदन’को गहिराइ बोकेको छ, कतै प्रेरणादायी मोटिभेसनल पुस्तक जस्तो लाग्छ। कहिले यो एउटा प्रेमीको एकान्त कथा जस्तो देखिन्छ, त कहिले सयौं मान्छेका भोगाइहरूको सङ्गालो जस्तो।

एउटा गीत लेखेर मैले कैयौं कथा अन्त्य गरे
मनभित्र चल्मलाएका सयौं व्यथा शान्त गरे
रहरहरू उम्लिरहने न्याना ताता यौवनभरि
आगोजस्तै पोलिरहने व्यथै व्यथा सिरानभरि
आधा रातमा ब्यूँझिएर सबै सपना बन्द गरे
एउटा गीत लेखेर मैले कैयौ कथा अन्त्य गरे।

कुनै ठाउँमा यो कृति गुणरत्न माला जस्तो छ:

छोरो तँ सबै जस्तो हुनू म जस्तो नहुनु
संसारलाई फाँडेर हिँड्नू बसेर नरुनू
कोमल मनले यो संसारमा आँसु नै पाउँदछ
फूलको मुस्कान छल गरी यहाँ हुरी नै ल्याउँदछ
तँ काँडा हुनु तँ भाला हुनू नौनी तँ नहुनु
कहीं फूल देखे कुल्चेर हिँडनू मायाले नछुनू

अर्कोतर्फ, यसभित्र भारतीय गीत ‘हर घड़ी बदल रही है रूप जिन्दगी’ को भाव पनि झल्किन्छ—

हरघडी उमेर मात्र अग्लिरहेछ
जिन्दगी त मैनजस्तो पग्लिरहेछ

हाँस्न खोज्दै सँधैभरि जल्नु मात्र छ
बाँच्या भन्दै दिनदिनै बल्नु मात्र छ
शिखाझैँ यताउता हल्लिरहेछ
जिन्दगी त मैनजस्तो पग्लिरहेछ

अन्त्यमा कविले भनेका छन्:

मातिएर केके भनेँ रक्सिएर केके बोलेँ
नसोच्नू तिमीले यो, मैले सबै सत्य बोले

पुस्तकमा प्रेमको कुरा मात्र गरिएको छैन, जीवनका अनगिन्ती भावनाहरूको प्रतिनिधित्व गराइएको छ। यहाँका शब्दहरू कुनै गीत होइनन्, ती त चोट खाएका मनका चिह्नहरू हुन्, जुन पढ्दा पाठकको हृदयभित्र गहिरो सन्त्रास उत्पन्न हुन्छ। यो पुस्तक कसैले भोगेर मात्र लेख्न सक्ने पीडा र प्रेमको सन्तृप्त घोल हो, एक प्रेमीको अन्तरआत्माबाट निस्किएको विलाप हो।

प्रेमको सौन्दर्य मात्र होइन, त्यसको अपूर्णता, वेदना र चिरस्थायी छापलाई पनि यहाँ उजागर गरिएको छ।

यो कृति कुनै साधारण किताब होइन—यो प्रेमको, पीडाको, आत्मबोधको, र मानवीय संवेदनाको अनुपम कोलाज हो। जसलाई पढ्दा पाठकलाई लाग्छ ऊ आफूभित्र लुकेर बसेका भावनाहरू पढिरहेको छ, किताब होइन आफैँलाई पढिरहेको छ।

पृष्ठ सकिए पनि प्रभाव सकिँदैन—शब्द टुङ्गिए पनि अनुभूति बाँकी रहन्छ।

No comments:

Post a Comment