Thursday, June 17, 2021

UEFA Euro 2020

 नेपालीहरूले फुटबलका फ्यानहरूलाई मुख्यत चार श्रेणीमा विभक्त गरेका छन्:

- हरेक चार बर्षमा एकपटक फुटबल हेर्ने फ्यान,

- लाइभ म्याच एउटै नहेर्ने अनि हाइलाइट्स हेरेर ठूलो कुरो गर्ने फ्यान,

- Premier League, La−Liga, Serie−A, Bundesliga, Ligue−1 सबैतिर एकएक वटा टिमको समर्थन गर्ने फ्यान,

- मेस्सी अनि रोनाल्डो मात्र चिन्ने फ्यान।

म चाहिँ फेरि माथीका कुनैमा पनि परिन तर सबैमा परेँ पनि।यस्तो चाहिँ कसरी भने, एक समय म विश्वकप मात्र हेर्थेँ। गाउँघरमा केबल र डिस आएपछि प्रिमियर लिगहरू हेर्न थालेँ तर पछिपछि गएर क्लबका खेलहरू (विशेशतः La−LigaSerie A) निरस लाग्दै गयो। त्यही भएर 15 मिनेटको हाइलाइट्स हेर्न थालेँ। अनि सबै लिगमा अझै पनि मेरा एक-एक वटा फेवरेट टिमहरू छँदै नै छन्।खेलाडीमा चाहिँ मेस्सी र रोनाल्डो बाहेक पनि अरू धेरै खेलाडीहरू म चिन्छु।



तर पनि म आफूलाई माथीका चारभन्दा अलि पृथक फ्यान मान्छु, अर्थात हरेक दुई बर्षमा एकपटक फुटबल हेर्ने फ्यान भन्न रूचाउँछु।किनकि हरेक दुई बर्षको अन्तरालमा विश्वकप र युरोकप (यसलाई नेपालीले मात्र युरोकप भन्छन्, अरूले युरोपियन च्याम्पियनशीप भन्छन्) आउँछ र म यिनै दुइ टुर्नामेन्ट मात्र मरिहत्ते गरेर हेर्ने गर्छु।

भर्खरैमात्र June 11 देखि UEFA European Championship को 16 औँ सँस्करण सुरू भएको छ। तर यो सुरू हुनुभन्दा एक महिना अगाडि नै प्राय सबैजसोले विजेताको घोषणा गरिसकेका छन्। तर म विजेताको घोषणा गर्न सक्दिन, किनकी म Paul Octopus हुँइन।हिजो भएको फ्रान्स र जर्मनीको खेल हेरिसके सँगै मैले यो प्रतियोगितामा सहभागी चौबीसै राष्ट्रका खेलहरू हेरेँ। यति हेरेपछि चाहिँ म पनि केही अनुमान लगाउन सक्ने भएको महसुस गरेपछि यो ब्लग लेख्न सुरु गरेको हुँ। हुन त फुटबलमा म सँधै जर्मनीको फ्यान हुँ तर यसपटक जर्मनीबाट मलाई केही आश छैन। जर्मनी बढीमा क्वार्टरफाइनल सम्म पुग्छ होला, त्यो भन्दा अगाडि खासै बढ्छ जस्तो लाग्दैन।

 

म यो युरोकप जित्ने क्षमता भएको टिममा केवल ईटाली र बेल्जियमलाई देख्छु।त्यसैले म यिनै दुई टिमको बारेमा मात्र कुरा गर्दैछु।

Gli Azzurri
१. ईटालीः ईटाली त्यही टिम हो जुन विश्वकप 2018 मा छनौट पनि हुन सकेको थिएन।तर यो 3 बर्ष अगाडिको कुरा हो। अहिलेको ईटाली राष्ट्रिय फुटबल टिममा धेरै सकारात्मक परिवर्तन आईसकेको छ।ईटालीले यो प्रतियोगिताको ट्रफि उचाल्छ जस्तो लाग्नुका कारणः

-ईटाली विश्वकै लागि बोगी (bogey) टिम हो।बोगी टिम भन्नाले यस्तो टिम भन्ने बुझिन्छ जसले या त अर्को टिमलाई सँधै हराउँछ कि त उनीहरूसँग खेल्दा 'आदत से मजबुर' जस्तो भएर दुर्भाग्यको आनन्द लिनु पर्छ।जस्तैः कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको नक-आउट चरणमा ईटाली र जर्मनी भिडे भने ईटालीले नै त्यो खेल जित्ने गरेको इतिहाँस छ। यहाँ ईटाली टिम जर्मन टिमको बोगी हो।

ईटाली टिमले यो जानेको छ कि यदि तपाईँ जित्न सक्नुहुन्न भने पनि तपाईँले हार मान्नु हुन्न। ईटालीयन डिफेन्डरहरू रक्षापङ्क्तिको कलामा निपुर्ण छन्।

 

-रोबर्टो माञ्चीनी अथवा इल माञ्चो तत्कालिन इटाली टोलीका प्रशिक्षक हुन्। यिनि त्यस्तो समयमा ईटाली राष्ट्रिय टिमसँग जोडिए जुन बेला इटालियन फुटबलको 'डार्केस्ट आवर' चल्दै थियो।विश्वकपमा छनौट हुन नसकेको र एकपछि अर्को मैत्रीपुर्ण खेल पनि हार्दै गर्दा इल मान्चो ईटाली राष्ट्रिय टोलीका प्रशिक्षक बने। उनकै कारण नै ईटालीले युरोकप को छनौट चरणका सत प्रतिशत खेल जित्यो। कसरी युरोकप जित्ने भन्ने कुरा इल माञ्चोलाई राम्ररी थाहा छ।

 

-अर्को कारण हो, इल माञ्चोका 'बोल्ड' निर्णयहरू! माञ्चोले त्यस्ता खेलाडीमाथि विश्वास गरेका छन् जसलाई बाँकी विश्वले चिनेकै छैन। Sandro Tonali कै उदाहरण लिउँ! उनले राष्ट्रिय टिमका लागि डेब्यु गर्दा बी-डिभिजन लिग (Serie B) खेल्दै थिए। मध्यपङ्क्तिबाट बल वितरण गर्ने उनको क्षमता पुर्व इटालियन फुटबलर आन्द्रे पिर्लो सँग मिल्दोजुल्दो छ। सँगसँगै उनी Set Piece Specialist पनि हुन्।यद्यपी यी खेलाडी युरोकपमा सहभागी छैनन तर यस्तै लुकेका प्रतिभाहरूलाई माञ्चोले खोजीखोजी ल्याएर मौका दिएका छन्। इटालीमा नयाँ अनुहार मात्र छैनन्, चिलेनी (Giorgio Chiellini) र बोनुकी (Leonardo Bonucci) जस्ता भेटेरानहरू पनि छन्, Andrea Belotti, Lorenzo Insigne, Ciro Immobile जस्ता फरवार्डहरू पनि छन्।अझै मिडफिल्ड मास्टरमाइण्ड Nicolò Barella को त के कुरा गराई भयो र? उनीहरूका पछाडी 22 बर्षे गोलरक्षक Gianluigi Donnarumma पनि छन् जसको खेल 30 बर्षिय अनुभवी खेलाडीको जस्तो छ।उनले अहिलेसम्म 43 मध्ये 15 पेनाल्टी सुट 'सेभ' गरेका छन्। यस्तो इटालियन रक्षापङ्क्तिलाई भेदेर अनि Gianluigi Donnarumma लाई छेडेर विपक्षीले गोल कसरी हान्न सक्ला र?

 

- पुर्व ईटालियन प्रशिक्षकहरू व्यवहारिक रणनीति (pragmatic tactics) अपनाउँथे तर माञ्चो 'बल पोजेसन' बढाउन डिजाइन गरिएको 4-3-3 संरचनामा विश्वास राख्छन्

 

- इटालियन टिममा खेलाडीहरू यसरी खाँदिएर बसेको देखिन्छ कि ती खेलाडी बिचको दुरी केही मिटर भन्दा धेरै हुँदैन। हर समय टिमको अलग-अलग भागमा बस्ने खेलाडी बीचको दुरी यथासम्भव छोटो वा कम हुन्छ। चाहे आगाडि होस् या पछाडी तर्फ हरेक खेलाडीहरू एकसमान रूपमा मैदानमा कुदिरहेका हुन्छन् जुन काम गर्न खेलाडीहरू बीच उच्च स्तरको समझ हुनुपर्छ र यसैले नै सफल कार्य दर को निर्धारण गर्छ।

 

२. बेल्जियमः बेल्जियम किन युरोकपको लागि फेवरेट टोली हो? र बेल्जियमले कसरी अन्य टोलीलाई धूलोपीठो पार्छ?


- सन् 2016 देखि बेल्जियमको मुख्य प्रशिक्षकका रूपमा रहेका Roberto Martínez ले नै बेल्जियमलाई 2018 फिफा विश्वकप मा तेस्रो स्थान दिलाउन सफल भएका हुन् जुन बेल्जियन फुटबल इतिहाँसकै सर्वश्रेष्ठ प्रदर्शन हो।त्यसका साथै फिफा वरियता क्रममा बेल्जियमले पहिलोपटक प्रथम स्थान हाँसिल गर्नुमा पनि मार्टिनेज नै मुख्य जिम्मेवार हुन्।

रोबर्टो मार्टीनेज आफ्नो टिमलाई 3-4-2-1 संरचनामा मैदानमा उतार्ने गर्छन्। र 4-2-3-1 संरचनाभन्दा 3-4-2-1 नै बेल्जियमका लागि 'फिट' हुन्छ। जब विपक्षीले दबाव बढाउँछ, तब बेल्जियम एकदमै लचिलो बनिदिन्छ अनि रक्षापङ्क्तिमा चार जना खेलाडी तानेर 'ब्याकलाइन' लाई बलियो बनाउँछ।यसरी जस्तोसुकै अवस्थामा पनि टिमलाई पुनः सन्तुलित अवस्थामा फर्कन सजिलो हुन्छ।यसरी नै बेल्जियन प्रशिक्षकले हरेक कोणबाट हेर्ने गर्छन्।

 

- बेल्जियमसँग विश्वकै दोस्रो सबभन्दा मूल्यवान गोलरक्षक Thibaut Courtois छन।बेन्फिका का भेटेरान डिफेन्डर Jan Vertonghen र टोटनह्यामका डिफेन्डर Toby Alderweireld ले सेन्टर ब्याकमा र लेष्टर सिटीमा सानदार 'फम'मा रहेका  Youri Tielemans ले डिफेन्सिभ मिडफिल्ड राम्रोसँग हेर्छन्। फरवार्डमा रहेका Romelu Lukaku बेल्जियमका लागि टप गोलस्कोरर हुन्।तर बेल्जियमका लागि सबभन्दा महत्वपूर्ण पहेली हुन् Kevin De Bruyne

डि ब्रोइन लाई चिन्न उनले पछिल्लो सिजनमा म्यान्चेष्टर सिटिका लागि गरेको प्रदर्शन हेरे पुग्छ।मलाई लाग्छ, उनी अहिलेको समयमा संसारकै नम्बर एक मिडफिल्डर हुन्। उनी खेलको tempo (खेलको गति) dictate गर्छन ।त्यसैले उनी राम्रा प्लेमेकर पनि हुन्। दुवै खुट्टा बराबरी चलाउने उनको ट्याकल र फिनिसिङ लाजवाब छ। साथै उनी मिठो पास पनि निकालीरहन्छन्।

त्यस्तै Jérémy Doku  फ्रेञ्च लिगका नामी ड्रिब्लर हुन्। उनी पनि बेल्जियमका लागि प्रमुख हतियार बन्न सक्छन्।

 

- अहिले बेल्जियमका लागि खेल्ने अक्सर खेलाडीहरू आफ्नो टिनेज मै बेल्जियम छोडेर विदेशी क्लबमा अनुबन्धीत भइसकेका थिए। युरोपका अन्य राष्ट्रका लिगको तुलनामा निकै कमजोर बेल्जियन लिग छोडेर गएका बेल्जियम राष्ट्रिय फुटबल टिमका 13 जना खेलाडी प्रिमियर लिग, 10 जना बुन्डेस लिगा, 7 जना सिरि-ए र 4 जना ला-लिगामा अहिले पनि खेल्दै आइरहेका छन्। हालको बेल्जियम टिममा रहेका खेलाडीमध्ये 9 जनाले यही बर्षको च्याम्पियन्स लिगको नक-आउट चरणका खेल खेलेका थिए।सायद यही कारणले होला बेल्जियमले आफ्ना पछिल्ला 15 अन्तर्राष्ट्रिय खेलहरूमध्ये एउटामा मात्र हारको स्वाद चाखेको थियो।

 

युरो 2016 मा जस्तो 'ओभरकन्फिडेन्ट' हुने अनि अरूलाई कम आँक्ने गल्ती गर्न बेल्जियमले छोडिसकेको छ।

 

यी दुई राष्ट्रबाहेक सेमीफाइनलसम्म पुग्न सक्ने राष्ट्र नेदरल्याण्ड र इङ्ग्ल्याण्ड हुन् जस्तो लाग्छ। तर नेदरल्याण्डमा अनुभवी खेलाडीको कमी देखिन्छ।फ्रान्सको प्रदर्शन जर्मनी जत्तिको छैन, त्यसैले फ्रान्स पनि क्वार्टरफाइनलभन्दा पर जान्छ जस्तो लाग्दैन। स्पेनको फुटबल टिममा पनि धेरै तनाब छ। पोर्चुगल डिफेन्डिङ च्याम्पियन हो र क्रिस्टियानो रोनाल्डोलाई कम आँक्ने गल्ती गर्नु पनि हुँदैन तर पोर्चुगलमा टिम-वर्कको कमी देखिन्छ। वेल्स, क्रोएसिया र पोल्याण्डले सोच्दै नसोचेको नतिजा दिन सक्छन्।

P.S−फुटबल अनिश्चितताको खेल हो। त्यसैले मैले माथी भनेका कुरा एक रत्ती पनि नमिल्न सक्छ।:P

P.P.S−  मेरो ब्लग पढेर मलाई जज गर्दा हुन्छ तर खेलाडी र टिमलाई जज नगर्नुहोला।;)

P.P.P.S- माथी प्रयोग भएका फोटाहरू मेरा सम्पत्ति होइनन्।