Tuesday, March 31, 2020

कोरोना भाइरस



    कोभिड-१९ का कारण विश्व नै भयावह स्थितिमा पुगिसकेको छ। कोरोना भाइरसका अगाडि शक्तिसम्पन्न मुलुकहरूले समेत घुँडा टेकिरहेको अवस्थामा कोरोनाको बोलबाला कायम छ। हामी आफैँ पनि अनुमान लगाउन सक्छौँ कि जब प्रदुषण बाट बच्न प्रयोग गरिने मास्क मानिसको युनिफर्म बन्छ, संसारको स्थिति कति बेहाल होला? विश्व स्वास्थ्य सङ्गठन र विश्वका अनेक राष्ट्रहरूले आफ्नै घरमा क्वारेन्टीनमा बस्नु भन्दै बारम्बार सावधानी अपनाउनका लागि अनुरोध र खतराको चेतावनी दिइरहँदा मानिसहरू मैमत्ता साँढे झैँ घरबाहिर निस्केर अनगिन्ति चटक देखाउन उद्यत छन्। मधु, पराग, भोला, चुरोट, खैनी आदि विना एक मिनेट समय पनि कटाउन नसक्ने मानिसहरूको रवैया, मास्क लगाउँदा निसास्सिएरै मरिहालिन्छ नि भन्ने किसिमको मानसिकता, साबुनपानीले बारम्बार हात धुँदा हातै खिइन्छ जस्तो गर्ने मानिसहरूको सोचले चरम गैरजिम्मेवारीपनालाइ इङ्गित गरेको छ भने अर्कातर्फ कोरोनाले र कोरोना सम्बन्धी टपरटुइयाँ अनलाइन अनि बेकम्मा, बकम्फुसे, बज्रस्वाँठ युट्युबे पत्रकारहरूका कपोकल्पित र वाहियात विश्लेषणहरूले मानिसहरूलाइ त्राहिमामको अवस्थामा पुर्याइरहेको छ। कोरोना भाइरसका बारेमा विज्ञताभन्दा तर्कको व्यापार बढेको छ। भाइरसको परिभाषा समेत नजान्ने मानिसहरू आफूलाइ 'हरफनमौला'(All-rounder) ठान्छन् र विज्ञ डाक्टरहरूको खुट्टा तान्नतिर बढी आकर्षित भएका छन्। एक किसिमले डरको राजनीति फस्टाउँदैछ। रोगसँग भन्दा बढी के सँग डराउँछन् र मानिसहरू? मान्छे किंकर्तव्यविमूढ भएका छन्। दिगो गरी कुनै काममा टिक्न नसकी आफ्नो करियर बनाउन विफल व्यक्तिहरूले यो महामारीलाइ माध्यम बनाएर सिधा/सोझा नागरिकहरूमाथी भ्रमको खेती गर्नु अकर्मण्यताको द्योतक हो। यसै परिवेशमा रहेर यो कोभिड-१९ बारेमा केही लेख्दैछु जुन विश्लेषण होइन, बस् एउटा टिप्पणी हो। यो टिप्पणीलाइ आधार बनाएर मेरो आलोचना वा प्रंशसा नगर्नुहोला किनकी मसँग खारिएको लेख्य चेत छैन।
    सन् २०१९ को डिसेम्बर महिना सुरू भएसँगै चीनको wuhan central hospital एक अञ्जान रोगका कारण भिडाम्भिड हुन थाल्यो। महिनाको अन्त्यतिर त्यहाँ तैनाथ डाक्टर 'लि बेन लियाङ्'ले सामाजिक सञ्जालमा पोष्ट गर्दै भने कि अस्पताल पुगेका विरामीहरूमा भाइरल न्युमोनियाको लक्षण देखिन थालेको छ। चीनका स्वास्थ्य अधिकारीहरूले स्विकार गरे कि उनीहरू एक सङ्क्रामक रोग को जाँच गर्दैछन्। सुरूवाती विरामीहरूमा अधिकतर व्यक्ति यस्ता थिए जो wuhan को sea food market को सम्पर्कमा आए। बजारमा वन्य जीवहरूको मासु पनि बेच्ने गरिन्थ्यो। जनवरी १ देखि उक्त बजारलाइ बन्द गरियो। नयाँ बर्ष २०२० को आगमनसँगै चीनका स्वास्थ्य अधिकारीहरूले घोषणा गरे कि उनीहरूले रोगको पहिचान गरिसकेका छन्- नोबल कोरोना भाइरस! ६१ बर्षका एक व्यक्ति यस भाइरसले मृत्यु हुने पहिलो आधिकारीक व्यक्ति बने। तर विरामीहरूको सङ्ख्या यसअघि नै धेरै बढीसकेको थियो। चीनको सिमा बाहिर थाइलेण्डमा यसको पहिलो घटना बाहिर आयो। त्यसपछि जापानको पालो आयो। थाइलेण्ड र जापानका सङ्क्रमित व्यक्तिहरू कहिल्यै Wuhan गएका थिएनन्। यसबाट यो स्पष्ट भयो कि यो भाइरस एक विरामी व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा सर्दो रहेछ। चीन भित्र नै पनि उक्त भाइरस अन्य शहरहरूमा समेत फैलियो, मानिसहरू मास्क लगाएर हिँड्न थाले, २०० भन्दा बढी मामिलाको पुष्टि भयो। विशेषज्ञहरूले यो सङ्ख्या अझै बढ्ने चेतावनी दिए। जनवरीको अन्त्य सम्ममा Wuhan मा विरामीहरूको उपचार गर्ने मेडिकल कर्मचारीहरू समेत मदौरू भए। ताइवान र अमेरिकाबाट पनि कोरोनाका मामिला समाचार बनेर आउन थाले। अन्य धेरै मुलुकहरूमा पनि यसको प्रभाव देखियो। चीन सरकारले एकदमै शसक्त कदम चाल्दै Wuhan सँगको सम्पर्क काटिदियो। शहरमा सार्वजनिक परिवहन पनि बन्द गरियो। Researcherहरूको दावी छ कि कोरोना भाइरसको एउटा incubation period छ। भाइरसको चपेटामा परेर पनि केही दिनसम्म यसको लक्षण देखिँदैन। चीनमा Lunar New Year को सुरूवात सँगै लाखौँ मानिसहरू छुट्टीमा घुमघाम गर्न थाले। यो समयसम्म दुनियाभरीबाट २००० केसहरू पुष्टि भइसकेको थियो, ५० जना मरिसकेका थिए र WHO ले Global health emergency घोषणा गरिदियो। फेब्रुएरीको सुरूवात हुँदा पनि Wuhan लकडाउन मै थियो। चीनका धेरै ठाउँमा कोरोनाको केस पुष्टी हुँदै गयो। यस घातक विमारीको सर्वप्रथम चेतावनी दिने डाक्टर लि वेन्लियाङ् (Li Wenliang) को कोरोनाले नै ज्यान लियो। फेब्रुएरीको अन्त्यसम्ममा भाइरस दुनियाभरका कैयौँ देशमा फैलिइसकेको थियो। चीनमा विस्तारै कोराना भाइरसको सङ्क्रमण थामिन थाल्यो। १९ मार्च २०२० मा चीनमा पहिलो पटक कोरोना भाइरसको कुनै नयाँ मामिला देखा परेन।
    कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने रोग कोभिड-१९ लाइ अन्तर्राष्ट्रिय महामारी घोषणा गरिएको छ। यति हुँदा हुँदै पनि धेरैजसो मानिसहरूलाई अझै पनि यस्तो लाग्छ कि एउटा इत्रु भाइरसलाइ लिएर एकदमै बढाइ चढाइ गरेर देखाइँदैछ। वर्तमानको दर हेर्ने हो भने हरेक व्यक्तिले २-३ व्यक्ति लाइ सङ्क्रमित गरिरहेको छ। हालसम्म दुनिया भरीबाट कुल ७ लाख व्यक्ति यस रोगको सङ्क्रमणमा परिसकेका छन्।
आफ्नो रोग प्रतिरोध क्षमतामा वृद्धि गर्नु नै विशेष किसिमको शरीरको सङ्क्रमणलाइ रोक्ने सबैभन्दा असरदार उपाय हो। कुनै पनि फ्लु (flu)लाइ रोक्ने खोप (Vaccine) बनाउन भाइरसको genetic code अथवा भाइरसका कमजोर sampleहरू लिइन्छ। सामान्य परिस्थितिमा खोपले शरीरको प्रतिरोध क्षमतालाइ सक्रिय गरिदिन्छ। यसले रगतमा प्रतिरक्षक वस्तु (antibody) बनाउँछ जसले शरीरमा रहेको भाइरससँग सम्पर्कमा आउने बित्तिकै तुरून्तै जवाफी हमला गर्न मद्दत गर्छ। एउटा सुरक्षित र प्रभावकारी खोप बनाउन ८ देखि १० बर्षसम्म पनि लाग्न सक्छ तर नोबेल कोरोना भाइरसका विरूद्धमा खोप बनाउन लागिपरेका विशेषज्ञहरू भन्छन्-यदि सबै कुरा फटाफट भयो भने औषधी "निस्कनलाइ १½ देखि २ बर्ष सम्म लाग्छ।" यसबिच एन्टिभाइरस औषधीहरू सङ्क्रमित मानिसहरूको उपचारमा काम लाग्न सक्छन्? यसको जवाफमा विशेषज्ञहरू भन्छन्- नयाँ औषधीको विकासमा लाग्ने समय खोपभन्दा बढी हुन्छ। नयाँ औषधीलाइ नियामक (regulator) बाट अनुमति पत्र (license) लिन नै १० बर्ष सम्म लाग्छ र औषधी उद्योगहरूको दावी छ कि यसको विकासमा एक अर्ब युरो खर्च हुन्छ । १० मध्ये ९ औषधीहरू औद्योगिक उत्पादनको स्तरसम्म पुग्नै सक्दैनन्। परिक्षणका दौरान कतै न कतै विफल हुन्छन्। रोग विशेषज्ञहरू मान्छन् कि मलेरिया या एचआइभीका लागि विकास गरिएका औषधीहरूको संवर्धित (augmented) रूपमा धेरै सम्भावना छ र यिनिहरूको चिकित्सकीय जाँच सुरू भइसकेको छ। तर कोभिड-१९ को खोप वा औषधीका लागि केही समय पर्खनै पर्ने बाध्यता सिर्जना भएको छ। यस्तो विसम र असहज परिस्थितिमा हामीले सतर्कता अपनाउनु र यसबारेका भ्रम चिर्दै जानु नै उचित हुन्छ। द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसको श्रृङ्खलाबद्ध प्रसारण रोक्नका निमित्त संसारभरीका अनेक मुलुकहरूमा लक-डाउनको घोषणा गरिएको छ। तर जुन गतिमा यस भाइरसका जीवाणुहरू फैलँदैछन् त्यो भन्दा द्रुत गतिमा यससम्बन्धी किर्ते र अधपकी समाचारहरू समेत फैलाइएका छन्। यस्ता भ्रमपुर्ण समाचारहरूलाइ निम्न बुँदामा प्रस्तुत गर्दैछु जसको स्रोत WHO को वेवसाइट र ALJAZEERA टिभीका वेवसाइट हुन्: 
१. बारम्बार पानी पिउनाले गलामा बसेको भाइरस पखाल्छ र फोक्सोमा पुग्नबाट रोक्छ।" 
*पानी पिउँदा केही न केही फरक त पर्छ तर शरीरको प्रणालीमा घुसिसकेको भाइरसले मानिसलाई विरामी बनाइसकेको हुन्छ।
२. "रक्सी पिउँदा कोरोना भाइरस मर्छ।
" *यो भ्रम र मिथ्या हो र यही मिथ्याले इरानमा धेरै व्यक्तिहरूको ज्यान लग्यो। 
३. "फ्लुको भ्याक्सिनले कोरोना लाग्नबाट जोगाउँछ" भन्नु पनि भ्रम नै हो। 
४. "पाल्तु पशुपंक्षीबाट पनि कोरोना सर्न सक्छ।" 
*यसमा केही सत्यता भएपनि यसको कुनै ठोस प्रमाण छैन। तर पाल्तु जनावर जस्तै: कुकुर/बिरालो आदिलाइ सुम्सुम्याउँदा वा हातले छुँदा चुम्बन गर्ने प्रयास नगर्नुमा नै भलाइ छ किनकी उनीहरूको रौँ र छालामा भाइरसका जिवाणु हुन सक्छन् । त्यसैले तिनीहरूलाइ छोएर साबुनपानी अथवा स्यानिटाइजरले हात धुनुपर्छ। 
५. "तातो खाना खाने अथवा तातो झोलिलो पदार्थ पिउँदा कोरोनाको जिवाणु मर्छन्" भन्नु केही हदसम्म ठीक भएपनि यो मानिसलाइ बहकाउने मेलो हो।

(Note: All the above information about covid−19 are taken from websites of WHO, BBC, Aljazeera, DW etc.)

Tuesday, March 3, 2020

कविर-हिमालयको सङ्गीत



   निश्चय नै कविर मेरा लागि अति प्रिय छन्। कारण धेरै छन्। बुद्धसँग मेरो अत्यन्त लगाव छ तर बुद्ध राजमहलको एउटा उपवन हुन् जहाँ सुन्दर फूल फुलेका छन्, जहाँको बगैँचामा सजावट छ, रौनक छ र परिष्कार पनि छ। तर जङ्गलको जुन सहजता हुन्छ, स्वभाविकता हुन्छ, त्यो कुराको अभाव छ। बुद्ध यदि उपवन हुन् भने कविर जङ्गल हुन्।
    जङ्गल को आफ्नै सौन्दर्य हुन्छ-अछुतो र कुमार! न त त्यसलाई मालीहरूले सजाएका छन्, न त ऊ शिक्षित छ, न त उसमा संस्कार छ, न त ज्ञान नै छ तर पनि उसले परम् प्रकाशको अनुभव गर्छ। शिक्षित र परिष्कृत व्यक्तिलाई जब परम्-प्रकाशको अनुभव हुन्छ, तब उसको अभिव्यक्ति स्वभावत जटिल हुन्छ, प्रखर हुन्छ। उसले चाहोस् या नचाहोस्, उसको अभिव्यक्तिमा सिद्धान्तको साया हुन्छ। उसको अभिव्यक्ति कच्चा हुन सक्दैन तर कविर को अभिव्यक्ति कच्चा छ। यस्तो हिरा, जुन भर्खरै खानीबाट निस्किए जस्तो; जौहरी को हातमै नपुगेको, न राँभोले हिर्काएको, न त सतह मिलेको; परमात्माले जस्तो बनाए, ठीक त्यस्तै; मान्छेले अहिले सम्म हस्ताक्षर गरेको छैन। त्यसैले टाढा हिमालयको पहाडको कुमार जङ्गलमा जुन निष्तब्धता छ, जुन सङ्गीत छ, जुन गहन मौनता छ, जुन प्रगाढ शान्ति छ, त्यस्तै केही कविरमा छ।
   कविर सँगै भारतमा बुद्धहरूको नयाँ श्रृङ्खला सुरू हुन्छ--नानक, रैदास, फरीद, मीरा, सहजो, दया। यो एक अलग्गै श्रृङ्खला हो। बुद्ध, महावीर, कृष्ण--यो एक अलग्गै श्रृङ्खला हो। बुद्ध ,महावीर र कृष्ण राजमहलका गीत हुन् । कविर, नानक, फरीद झुपडीमा बजेका वीणा हुन् । राजमहलमा गीतको जन्म हुन एकदमै सजिलो छ, नभए आश्चर्य हुन्छ, हुँदा कुनै आश्चर्य छैन। राजमहलमा बस्ने जोसुकै होस्, ऊ निश्चय नै त्यसबाट दिक्क हुन्छ। राजमहलमा जीवन बिताएका व्यक्तिहरूमा जगत प्रतिको आशक्ति मेटिएर जान्छ। जति बचाउन चाहोस्, मुस्किल छ बचाउन । निर्धनलाई धनको आशा हुन्छ । उसलाई लाग्छ कि धन पाए सबैथोक पाइन्छ । अनि त्यसपछि पाउने के? तर जसले सबैथोक पाउँछ, उसको आशाको लागि कुनै आकाश बाँकी रहँदैन। उसको हातमा केवल निराशा र दुर्बलता हुन्छ । बुद्ध सँग सबैथोक थियो, कविर सँग केही पनि थिएन। बुद्ध सँग के थिएन? कविर सँग के थियो? त्यसैले यदि बुद्ध संसार को हडबडी र गडबडीले यत्रतत्र दगुरे अनि यो दौड व्यर्थ भए कुनै आश्चर्य हुँदैन। राजमहलमा बसेर पनि यदि कोही सन्यासी नभए ऊ महामूर्ख कहलाउँछ, मन्दबुद्धि कहलाउँछ, मात्र यही कुराको प्रमाण दिन्छ। कविर त जुलाहा थिए। आज कमायो आज खायो, भोली कमाए भोली खाउँला। साथमा यति पनि हुँदैनथ्यो कि भोलीका लागि निश्चिन्त बसुन्। तर जसले यस्तो गरीबिमा पनि देख्न सक्यो संसारको व्यर्थतालाई, ऊसँग महान प्रज्ञा हुनुपर्छ । बुद्धले देख्न सके-ठीक, महावीरले देखे-ठीक तर कविरले देखे-यो असामान्य हो। जसरी मैले भनेँ कि महलमा केवल बुद्धुहरू मात्र रहन सक्छन् त्यसरी नै यो पनि स्मरण गर्नु छ कि झुपडीमा केवल अति प्रज्ञावानले नै बुद्धत्व प्राप्त गर्न सक्छन्। त्यसैले स्वभावत कविर प्रति मेरो लगाव गहिरो छ। कविरको वाणी मा एउटा चोट छ किनकी कविर ढाँचाविहिन छन् । बुद्धको वाणी सुकुमार छ-फूल जस्तै कोमल । कविरको वाणी यस्तो छ कि लाग्छ कसैले ‌शिरमा ‌चट्टान‌ झारिदियो।
   "कबीरा खडा बाजार में लिए लुकाठी हाथ। घर बारे जो आपना चले हमारे साथ॥" घरलाई जलाइदिने, खरानी बनाइदिने हिम्मत छ भने मसँग आउ! हातमा लठ्ठी लिइ उभिएर कविर भन्छन् । यो 'लुकाठी' यो लठ्ठी किन? कविर त यसरी अवरोहरण हुन्छन् कि मानौं तरबारको धार। बुद्धले पनि काट्छन् तर उनको कटाइमा एउटा कुशलता छ, कला छ, प्रणालीबद्धता छ, एउटा सुक्ष्म मार (subtle hit) छ। तर कविर एकैचोटी उठाउँछन् बञ्चरो अनि दुइ  फ्याक पार्छन्। कविरको वचनमा आगो छ, अग्निवत् छ उनको वचन । बुद्धको वचनमा केही शितलता पनि होला, कसैले बुद्धको वचनमा सान्त्वना पनि खोज्न सक्ला किनकी ती शितल छन्। कविरको वचनमा सान्त्वना खोज्नु असम्भव छ। त्यहाँ त जल्दै गरेको क्रान्ति भेटिन्छ। त्यहाँ त जो जलेर खरानी हुने रहर गर्छ, उसलाइ मात्र निमन्त्रणा छ। जब बुद्ध बोल्थे, उनको अभिव्यक्तिमा तर्कको आधार हुन्थ्यो, दार्शनिकता हुन्थ्यो, गणित हुन्थ्यो किनकी बुद्धको सम्पूर्ण शिक्षा दीक्षा तर्कको थियो। एउटा राजकुमार जसरी उनलाइ शिक्षित दीक्षित गरिएको थियो। तर कविर दुर्बोध (incomprehensible) विरोधाभाषात्मक पहेली (paradox) हुन्। तर्क के हो भन्ने कुरा उनलाई थाहै छैन, सङ्गतिको कुनै हिसाब नै छैन। उनमा सत्य जुन परिपुर्णता सहित प्रकट हुन्छ, त्यसरी बुद्धमा हुन सक्दैन किनकी संगतिबारे उनलाई केही थाहै छैन ।बुद्धमा त सत्य छाँट-काँट भएर आउँछ, सत्य ले निखार लिएर आउँछ, सत्य यसरी आउँछ कि तिम्रो बुद्धीलाइ रूचोस्-पचोस्। बुद्धको सम्पूर्ण प्रक्रिया बुद्धीवादी र युक्तिसङ्गत (rational) , त्यसैले सत्यमा बुद्ध बारे राजी हुन धेरै कठिन छैन। त्यसैले बुद्ध ले ती सम्पूर्ण विरोधाभाषात्मक प्रश्न लाइ कहिल्यै उठाएनन्, ती प्रश्न हरूलाइ अव्याख्य भनेर बेवास्ता नै गरिदिए। ती प्रश्न को उत्तर दिन कविरको विरोधाभाषात्मक शब्द नै प्रयोग गर्नुपर्छ । जस्तै-: कविर भन्छन्--"एक अचंभा मेँ ने देखा, नदिया लगी आग।" यसलाइ बुद्धले भन्नै सक्दैनन्। अचम्म त उनले पनि देखेका छन्, नदीमा आगो लागेको उनले पनि देखेका छन् तर उनले यसो भन्न सक्दैनन्, उनको शिक्षा दीक्षा ले उनलाई बोल्न रोक लगाउँछ। देख्न त देखेको छ तर कसरी भनुँ? प्रमाण कहाँबाट ल्याउँ? तर्क कहाँबाट जुटाउँ? त्यसैले बुद्ध भन्छन्--"म विधि बताउँछु, तिमीलाई नै लिएर जान्छु त्यो नदीको किनारमा, अनि तिमी आफैँ हेर्नु तर म यो भन्दिन कि नदीमा आगो लाग्यो। त्यस्तो प्रश्न नै नसोध मलाई । त्यहाँ जाने मार्ग सोध, विधी सोध, विधान सोध तर यो नसोध कि अनुभव कस्तो हुन्छ? कविर त गाउँका गंवार हुन्, बेफीक्रि भनिदिन्छन् कि नदीमा आगो लाग्यो। नदीमा कतै आगो लाग्छ? विवाद गर्न थाल्यौ भने कविर अफ्ठ्यारोमा पर्नेछन्। कसरी सम्झाउनु कि नदीमा आगो लाग्यो? कविर यस्ता अचम्म लाग्ने धेरै कुरा गर्छन् । जस्तै-: ||"मछली चढ गइ रूख!" -- वृक्षमा माछो चढ्यो । अरे! माछो को खुट्टा हुन्छ र रूख चढ्न लाई? कहिल्यै सुने/देखेको छ रूख मा माछो चढेको?|| तर कविरले केही भन्छन् भने त्यसको प्रयोजन (purpose) हुन्छ र प्रयोजन तर्कातित (beyond the logic) छ। तर कविर लाइ के को फीक्रि कि कुन कुरा तर्कमा बस्छ कुन बस्दैन, गणित को ढाँचामा मिल्छ कि मिल्दैन, कविरलाइ चिन्तै छैन । कविरलाइ कुनै यस्तो शिक्षा दीक्षा नै दिइएन जहाँ विचारलाई ढाँचामा राख्न सिकाइयोस्। तर्कलाइ चौकटमा बसाउने कुरा स्मरण नै छैन ।

   भर्खर भर्खरै पश्चिम का केही चित्रकार हरूले आफ्नो कलाकृतिमा फ्रेम लगाउन बन्द गरेका छन् । उनीहरूलाई यस विषय मा प्रश्न सोध्दा उत्तर दिए कि जगत मा कुनै पनि चिजमा फ्रेम त हुँदैन ।जस्तै तिमीले एउटा सूर्यास्तको चित्र बनायौ भने सूर्यास्तमा कुनै फ्रेम त हुँदैन-यहाँ सुरू भयो र यहाँ समाप्त भयो भन्ने खालको। यो न त कतै सुरू हुन्छ न त कतै अन्त्य नै, दुवैतिर अनन्तसम्म फैलिएर जान्छ, सबै आयाम हरूमा फैलिएर जान्छ । तर जब तिमी चित्र कोर्छौ, तिम्रो क्यानभासको त सिमा हुन्छ । सिमा पनि नभए तिमी त्यो चित्र मा सुन्दर, सुनौलो र महँगो फ्रेम त हाल्छौ हाल्छौ । यी चित्रकारहरू भन्छन् कि फ्रेम दिनासाथ तिम्रो सूर्यास्त झुठो भयो। असली सूर्यास्तमा त कुनै फ्रेम /चौकट थिएन, तिमीले यो चौकट कसरी जोड्यौ

   तर्क पनि एउटा चौकट हो, सुन्दर चौकट हो।एकदमै आकर्षक छ त्यो, खुब नक्काशी (carving) छ त्यसमा, उत्किर्णीत (great carving) काम छ, उच्च कारीगरी (workmanship) छ तर सत्य मा कुनै चौकट हुँदैन । बुद्ध र महावीरका वाणीमा तर्कको चौकट छ जुन उनीहरूको बाध्यता थियो । उनीहरूलाई नै गाह्रो थियो भन्न । यस्तो अबुझ कुरा जुन कविर निर्लज्जता र सङ्कोच विना नै भन्न सक्थे, त्यसरी बुद्ध र महावीरले कसरी भन्न सक्थे र? त्यसैले बुद्धको आसपास विचारशील चिन्तकहरूको समूह भेला भयो, पण्डितहरू भेला भए, ज्ञान भेला भयो, दार्शनिक भेला भए। जति दार्शनिकलाइ बुद्धले प्रभावित गर्न सके, सम्भवत त्यति कसैले गर्न सकेनन्। संसारमा दर्शनशास्त्रको जति पनि शाखा-उपशाखाहरू पैदा भए, ती सबै शाखा-उपशाखा, नियन्त्रित कम्पनीहरू केवल बुद्धको धारामा नै पैदा भए। यदि बुद्धको दर्शनको गंगालाइ कसैले पुर्णरूपमा बुझे यो संसार मा जहाँ पनि जस्तो सुकै दर्शन पैदा भएको छ, त्यो उसले बुझ्छ । तराजुको एकातिर सम्पूर्ण जगत को दर्शनशास्त्र र अर्कातिर केवल बुद्ध को गंगा राख्ने हो भने दुवै समतौलका हुन्छन् । बुद्धलाइ फाइदै भयो किनकी दार्शनिकहरू भेला भए र दर्शनमा निखारता आउँदै गयो तर हरेक लाभसँगै नोक्सान जोडिएको हुन्छ । दर्शन जति निख्रियो, त्यति नै सतही (superficial) भयो, त्यति नै अवास्तविक भयो,त्यति नै शाब्दिक भयो यो नोक्सान पनि भयो। बुद्धको छाप सम्पूर्णमा पर्यो, समस्त एशिया नै बुद्धबाट प्रभावित भयो।

    कविरलाइ साथ दिने को भेला भयो? न कुनै दार्शनिक, न कुनै चिन्तक, न कुनै विचारक! कविर का वचन त पुनरावेदन (appeal) नै भएनन्। होउन पनि कसरी? कविरसँग कुनै तर्क नै थिएन । कविरले लाख भनुन् कि मेरै आँखाले देखेको नदीमा आगो लागेको, भनेर के हुन्छ? कसले मान्छ? मान्छे ले वाहियात गफ भनिदिन्छन्, पागल भनिदिन्छन्। अँ दिवानाहरू (mad ones) चैँ भेला भए। नोक्सान यो भयो कि दार्शनिक आएनन्, चिन्तक आएनन्, विचारक आएनन्, पण्डित आएनन् तर यो लामो दौड को नोक्सान नै कविर का लागि लाभकर सिद्ध भयो। दिवाना आए, मस्ताना (drunken ones) आए, परवाना (crazy ones) आए, होस गुमाउन आए (to get intoxicated)। अलग किसिमका व्यक्तिहरूको जमात खडा भयो।   कविर को वचनमा अखण्डता छ,एक परिपुर्णता छ तर जब जुनसुकै चिजमा परिपुर्णता हुन्छ, उसलाइ तर्क को घेराभन्दा बाहिर निस्कनु पर्छ, उसले तर्कको चौकटलाइ पछाडि नै छोड्नुपर्छ। त्यसैले कविर सँग मेरो प्रेम छ।-
 Disclaimer: यो लेख ओशो रजनीशका वाणीहरूलाइ माध्यम बनाएर नेपालीमा उल्था गरिएको हो। ओशोलाइ प्रेरणाका रूपमा मानिसले लिउन् भन्नका लागि अनुवादीत यस लेखनी पढ्नुहोला। ओशो कुनै धर्म होइनओशो एक विचार र दर्शन हो।