Saturday, November 2, 2024

देउसी भैलो भट्याउने


ए! झिलिमिली, झिलिमिली — देउसीरे

ए! के को झिलिमिली — देउसीरे

ए! आकाशमा हेर्दा — देउसीरे

ए! ताराको झिलिमिली — देउसीरे

ए! धर्तीमा हेर्दा — देउसीरे

ए! फूलको झिलिमिली — देउसीरे

ए! कुन फूल — देउसीरे

ए! सयपत्री — देउसीरे

ए! मखमली — देउसीरे

ए! गोदावरी — देउसीरे

ए! बत्तीको झिलिमिली — देउसीरे

ए! कुन बत्ती — देउसीरे

ए! दियो बत्ती — देउसीरे

ए! पाला बत्ती — देउसीरे

ए! मैन बत्ती — देउसीरे

ए! रङ्गी र चङ्गी — देउसीरे

ए! साथी र सङ्गी — देउसीरे

ए! भन भन भाइ हो — देउसीरे

ए! राम्ररी भन — देउसीरे

ए! स्वर मिलाइकन — देउसीरे

ए! देउसी रे! भन — देउसीरे

ए! हामी त्यसै — देउसीरे

ए! आएका होइनौँ — देउसीरे

ए! बलीमा राजको — देउसीरे

ए! हुकुमै हुँदा — देउसीरे

ए! आएका हामी — देउसीरे

ए! रातो माटो — देउसीरे

ए! चिप्लो बाटो — देउसीरे

ए! लड्दै पड्दै — देउसीरे

ए! आएका हामी — देउसीरे

ए! घरबेटी बाको — देउसीरे

ए! मञ्जुरी लिँदै — देउसीरे

ए! यसै घरको — देउसीरे

ए! चार कुने — देउसीरे

ए! आँगनीमा — देउसीरे

ए! उफ्रीमा पाफ्री — देउसीरे

ए! नाचौँ है भाइ हो — देउसीरे

ए! गाऔँ है भाइ हो — देउसीरे

ए! सुरीलो भाका — देउसीरे

ए मेरा काका — देउसीरे

[[झिनियाँ र सेलरोटीले घरै मगमग,

यसपालीको तिहारले ल्याओस् हाँसो रङ्ग।


हे! ओठमा हाँसो मनमा खुशी, 

त्यही खुशीमा मारौँ कि बुर्कुसी।

भन भन सब्ले देउसीरे भन,

(हटोस् सारा दु:ख र अड्चन्)²

]]


ए! यहाँ मात्र होइन — देउसीरे

ए! देश र संसार — देउसीरे

ए! घुम्नै पर्ने — देउसीरे

ए! डुल्नै पर्ने — देउसीरे

ए! केराको थम्बा — देउसीरे

ए! साथीभाई जम्मा — देउसीरे

ए! देउसे टोली — देउसीरे

ए! भाइटिका भोली — देउसीरे

ए! रमाइलो तिहार — देउसीरे

ए! मनाउँ है भाइ हो — देउसीरे

ए! जनाउँ है भाइ हो — देउसीरे

ए! सँधैमा सँधै — देउसीरे

ए! कहाँ पो आउँछ — देउसीरे

ए! बर्षमा दिनको — देउसीरे

ए! तिहार पर्व — देउसीरे

ए! हाँसखेल गर्दै — देउसीरे

ए! मनाउँ है भाइ हो — देउसीरे

ए! झिलिमिली झिल्ला — देउसीरे

ए! सेल रोटी मिल्ला — देउसीरे

ए! आखुम् बाखुम् — देउसीरे

ए! तातो रोटी चाखुम् — देउसीरे

ए! छानामाथी घिरौँला — देउसीरे

ए! के के दिन्छन् हेरौँला — देउसीरे


[[मनका पीर व्यथा मेटिने, 

चाड आए साथीभाई भेटिने,

तिहारले उमङ्ग छरी,

दाजुभाइ आ'रैछन् घरभरी]]



ए! टाढाबाट आइयो — देउसीरे

ए! धेरै धेरै चाहियो — देउसीरे

ए! कहाँको देउसे — देउसीरे

ए! भन्लान् है भाई हो — देउसीरे

ए! लाजैमा पर्ला — देउसीरे

ए! गालैमा पर्ला — देउसीरे

ए! बडा मा घरको — देउसीरे

ए! बडा मा चाला — देउसीरे

ए! देउसे भाइको — देउसीरे

ए! इज्जतै जाला — देउसीरे

ए! आकाशको बादल — देउसीरे

ए! ठोक भाइ मादल — देउसीरे

ए! मेरा भाइ हो — देउसीरे

ए! भोकायौ होला — देउसीरे

ए! तिर्खायौ होला — देउसीरे

ए! कतिमा खान्छौ — देउसीरे

ए! कतिमा लान्छौ — देउसीरे

ए! मै मागी दिउँला — देउसीरे

ए! मै मागी दिउँला — देउसीरे

ए! हिजोमा आउने — देउसीरे

ए! जोगी र माग्ने — देउसीरे

ए! आजमा आउने — देउसीरे

ए! देउसे र भैले — देउसीरे

ए! मेरा भाइ हो — देउसीरे

ए! भट्याउनेको — देउसीरे

ए! स्वरैमा ढाकी — देउसीरे

ए! राम्ररी भन — देउसीरे

ए! मेरा भाइ हो — देउसीरे

ए! सुनको द्वार — देउसीरे

ए! रूपको द्वार — देउसीरे

ए! सुरूक्क खोली — देउसीरे

ए! लक्ष्मी जस्ती — देउसीरे

ए! घरबेटी आमा — देउसीरे

ए! पाँचै र मुखे — देउसीरे

ए! थैलीलाई खोल्दै — देउसीरे

ए! आइन है भाइ हो — देउसीरे

ए! दान र भेटी — देउसीरे

ए! ल्याइन् है भाइ हो — देउसीरे

[[लक्छिमी जस्ती घरबेटी आमा धपक्कै बलेकी,

कम्पनी मोहर पाँचमुखे थैली सरक्कै खोलेकी।

सरक्कै खोलेकी नि लै लै, सरक्कै खोलेकी ।

कम्पनि मोहर पाँचमुखे थैली सरक्कै खोलेकी।

]]



ए! मेरा भाइ हो — देउसीरे

ए! आषिक दिउँ — देउसीरे

ए! यसै घरमा — देउसीरे

ए! सँधैमा भरी — देउसीरे

ए! लक्ष्मीले — देउसीरे

ए! बासमा गरून् — देउसीरे

ए! धनको थैली — देउसीरे

ए! नजाओस् मैली — देउसीरे

ए! अन्नको सोली — देउसीरे

ए! सँधै होस् भोरी — देउसीरे

ए! रोग र शोक् नि — देउसीरे

ए! पाइताला मुनी — देउसीरे

ए! ढुङ्गा छुँदा — देउसीरे

ए! सुनै बनोस् — देउसीरे

ए! माटो छुँदा — देउसीरे

ए! अन्न बनोस् — देउसीरे

ए! परेवा पन्छी — देउसीरे

ए! उड्दामा खेरी — देउसीरे

ए! आकासै ढाकुन् — देउसीरे

ए! बस्दामा खेरी — देउसीरे

ए! पृथ्वी ढाकुन् — देउसीरे

ए! यसै घरका — देउसीरे

ए! गाई र वस्तु — देउसीरे

ए! लर्कै देखि — देउसीरे

ए! खर्कै सम्म — देउसीरे

ए! छुटी मा रहुन् — देउसीरे

ए! यसै घरका — देउसीरे

ए! बुवा आमा — देउसीरे

ए! वर-पिपल जस्तै — देउसीरे

ए! तपी मा रहुन् — देउसीरे

ए! यसै घरका — देउसीरे

ए! लाला बाला — देउसीरे

ए! दुबो जस्तै — देउसीरे

ए! मौलाइ रहुन् — देउसीरे

ए! देउसेले देको — देउसीरे

ए! आषिकै लागोस् — देउसीरे

ए! लेकको काने — देउसीरे

ए! औल को माने — देउसीरे

ए! आशिष दिन — देउसीरे

ए! यति नै जाने — देउसीरे

ए! लियौँ है सिदा — देउसीरे

ए! माग्यौँ है विदा — देउसीरे

No comments:

Post a Comment