Thursday, October 22, 2020

कृष्ण – अर्जुन − दुर्योधन : सुन्दर कथा

युद्ध पुर्व अर्जुन र दुर्योधन आफ्ना सबै मित्र र नातेदारका घरमा गए। यो प्रार्थना गर्दै कि युद्धमा हाम्रो तर्फ सम्मिलित हुनु। सबै नातेदार थिए, सबै जोडिएका थिए, गृहयुद्ध थियो। अर्जुन पनि पुगे कृष्णका अगाडी अनि दुर्योधन पनि। दुवै एकै समयमा पुगे। दुवै संधै एकै समयमा पुग्छन् तिम्रो भित्र पनि। तिम्रो आबादी  र तिम्रो बर्बादी संधै साथ साथमा हुन्छन। तिम्रो असत्य रुप र तिम्रो सत्य रुप संधै साथ साथ उभिन्छन। दुवैले तिमीबाटै त ऊर्जा लिन्छन। दुवैको शक्ति नै तिमी त हौ। दुवैले तिमीसंगै त माग्छन। र सदा साथसाथ माग्छन। जब तिमी चोरी गर्न जान्छौ, तिमी भित्रको 'अचोर' भन्छ −− नगर। जब तिमी झुटो बोल्छौ, तिमी भित्र त्यो स्वर पनि गुञ्जन हुन्छ जसले भन्छ होइन, यो उचित होइन। जब तिमी सत्य बोल्छौ, तब पनि कोही  भित्रबाट भन्छ अहँ! केहि लाभ हुदैन, हानी नै हुन्छ; फेरि अलिकति झुटो बोल्दैमा के नै जान्छ र? जीवनमा अलिअलि झुट त चलिहाल्छ नि! यसरि पुरै सन्यासी भएर त लुटीन्छौ तिमी।

चोरी नगर्दा पनि मन भन्छ: के गर्दैछौ यो? चुकी रहेको छौ तिमी, उठाऊ! देख्ने कोहि पनि छैन। र चोरी त तब हुन्छ, जब तिमी पकडीन्छौ। यहाँ त पक्राउ पर्ने पनि कुनै उपाय देखिन्न, कोहि छैन 'आसपास'मा पनि। उठाऊ!

चोर र अचोर साथसाथ, सत्य र असत्य साथसाथ, अर्जुन र दुर्योधन साथसाथ पुगे कृष्णका अगाडी। तर स्वभावैले दुर्योधन बसे सिरानी छेउ अनि अर्जुन बसे गोडा छेउ। त्यहीं निर्णय भयो, त्यसै क्षण सम्पूर्ण गीताको निर्णय भयो, त्यसै क्षणमा सम्पूर्ण महाभारत जितियो र हारियो पनि। त्यसपछिको त केवल विस्तार हो। यदि तिमीलाई आफ्नो साक्षी खोज्नु छ भने विनम्र हुनु जरुरि छ। तिमीलाई यदि सारथी खोज्नु छ भने विनम्र हुनु जरुरी छ। किनकी अहंकारले नै धुवाँ पैदा गर्छ र देख्न दिंदैन। अहंकारले नै त अड्काउँछ, अल्झाउँछ। अहंकार नै त पर्दा बन्छ। दुर्योधन कसरी बस्न सक्छ पाउ नजिक? दुर्योधनको मनमा नै पाउ पर्ने कुरै उठेन होला। उ सहजै आफ्नो स्वभावत गएर शिर छेउमा गइ बस्यो। अहंकार संधै शिरमा बस्छ र जहाँ अहंकार हुन्छ त्यहीं चुक्न जान्छ मान्छे र उसले आफ्नो सारथी भेट्दैन। सम्पूर्ण कुरा पाउंछ तर सारथी पाउंदैन। अर्जुन बसेको छ पाउ छेउ। ऊ बिनम्र निवेदन, निर्अहंकार भाव लिएर गएको छ, साक्षी अवस्य पाउने छ।कृष्णको आँखा खुल्यो, कथा भन्छ। स्वभावत: कृष्णले पहिले अर्जुनलाई देखे। साक्षीको आँखा पहिला विनम्र माथी पर्छ न कि अहंकारी माथी। अहंकारी त शिर माथी बसेको छ, सम्राट बनेर बसेको छ। ऊ कृष्ण भन्दा ठुलो भएर बसेको छ। तिम्रो अहंकार रथमा सवार छ र सारथी भन्दा यति माथी बसेको छ कि सारथीले पनि हेर्न खोजे देखिने छैन। तिमी अन्धो हौ र त तिमी शिर छेउ बसेका छौ। यदि थोरै पनि आँखा भैदिएको भए तिमी पाउ छेउमा हुने थियौ। युद्ध को निर्णय त सबै त्यहि क्षण भईसकेको थियो।

अर्जुन माथी कृष्णको आँखा पर्यो। कृष्णले स्वभावत अर्जुन लाई सोधे: किन आयौ? तत्क्षण दुर्योधन बोल्यो  −− म पनि संगै आएको छु। मलाई बेवास्ता नगर्नुस! म पनि यहीं छु। अहंकारले आफ्नो उपस्थितिको जानकारी गराउनु पर्छ। विनम्रताको उपस्थिति आफ से आफ थाहा हुन्छ। र जब आफु उपस्थित भएको जानकारी गराउनु पर्छ, उसको शोभा गुम्दछ। कृष्णले भने: ठीक छ, तिमीहरु दुवै संगै आयौ तर मेरो नजर पहिले अर्जुन तिर पर्यो; त्यसैले, म पहिले अर्जुनलाई सोध्छु। "किन आयौ ? के माग्न आयौ ?" दुर्योधन डरायो, भयवित भयो; यो त गल्ति भयो। गल्ति यसकारण होइन कि मैले विनम्रता देखाइन, गल्ति यसकारण कि लाभको क्षण चुक्यो। यदि अहंकारी कहीं विनम्र हुन चाही हाल्यो भने लोभका कारण। विनम्रता उसको आधार हुँदै होइन। यदि अहंकारी अक्रोधी हुन चाहन्छ भने त्यस पछाडीको कारण निर्अहंकारीता नभएर अरु नै केहि हुन्छ लोभ, पद, प्रतिष्ठा, वासना, महत्वाकाङक्षा। दुर्योधन डरायो, सोच्यो यो त मुस्किल भयो। अर्जुनले भन्यो, म जे कारणले आएको हुँ, दुर्योधन पनि त्यसै कारणले आएको हो। हामी तपाईको सहायता माग्न आएका हौँ। युद्ध टारेर टर्ने वाला छैन। युद्ध भएरै रहन्छ। हामी प्रार्थना गर्न आएका हौँ कि हामीलाई साथ दिनु। कृष्णले भने कि तिमीहरु दुवै आएका छौ त एकै उपाय छ कि एकले मलाई माग र अर्कोले मेरा सेनाहरु लाई। दुर्योधन कम्पित भयो होला यो सोचेर कि निश्चय नै अर्जुनले फौजीहरु माग्ने छ। कृष्णलाई पाएर के गर्नु? यो एक्लोलाई पाएर के गर्नु? यो एक्लो मान्छे को के मूल्य? विराट फौजीहरु छन् यसका र पहिलो मौका अर्जुनलाई मिल्यो; म त सकिएं। यो बाजी त चुक्यो। चरणमा बसेको भए बरु लाभ हुन्थ्यो। चरण पकडेको भए हुने थियो। चकित भयो होला दुर्योधन पनि जब अर्जुन ले निर्णय सुनायो। अर्जुन बोल्यो यदि यहि निर्णय हो भने म तपाईलाई चुन्छु। छाती फुल्यो होला दुर्योधन को। सोच्यो होला उसले कस्तो मुर्ख पाण्डव रहेछ। अहंकारीहरुलाई विनम्र व्यक्तिहरु मुर्ख नै लाग्छन। अज्ञानीहरुलाई ज्ञानीहरु पागल लाग्छन। अबुझलाई समझदार अबुझ नै लाग्छन। रोगीहरुलाई स्वस्थ मान्छे देख्दा लाग्छ कि यो कुनै महारोगबाट पींडित छ। पाण्डु रोग लागेका सबैलाई सबै चिज पहेंलो नै देखिन्छ। हनहनी ज्वरो आएर उठेको मान्छेलाई स्वादिष्ट भन्दा स्वादिष्ट भोजन पनि तितो लाग्छ, मिठाईमा मिठासको '' पनि भेट्दैनन। दुर्योधन हाँस्यो होला, प्रसन्न भयो होला, हातमा आएको बाजी यो मुर्ख अर्जुनले फेरि हार्यो  भनी सोच्यो होला। "यसरी नै सदा अर्जुन हारीरहोस। यसरी नै हारेका थिए पाण्डवहरु जब शकुनीले दाउ फ्यालेका थिए। त्यहाँ त मेरो चतुर्याइं ले हारेका थिए, यहाँ त आफ्नै बुद्धिहिनताले हारे। यिनीहरु हार्नकै लागि हुँन्। यिनीहरुको विजयको कुनै उपाय छैन। मागेको भए हुन्थ्यो सेनाहरु। एउटा कृष्ण, एक्लो कृष्ण को मुल्य के?" तर यहीं निर्णय भयो।

एक कृष्ण एकातर्फ, सारा संसार अर्को तर्फ तर पनि 'एक' कृष्ण चुन्नु जस्तो हो। एक चुन्नु जस्तो हो। "एक साधे सब सधे, सब साधे सब जाय।" 'एक'लाई पक्रेर अर्जुनले जिते। स्मरण रहोस उसले जित्नका लागि 'एक'लाई पक्रेको थिएन नत्र त दुर्योधन र अर्जुनको गणितमा केहि अन्तर हुने छैन। अर्जुनले जित्न का लागि 'एक'लाई पक्रेको थिएन। यो अलग कुरा हो कि अर्जुनले 'एक'लाई पक्रेर जितेको थियो। आफ्नै बुद्धी लाई सोधेको भए पनि आफ्नै बुद्धिले पनि भन्थ्यो सैनिक छान्! त्यहाँ शक्ति छ। तर समझदार ले शक्ति नचुनेर शान्ति चुन्छ। कृष्णलाई चुनेर अर्जुनले शान्ति चुन्यो, शाक्षी भाव चुन्यो, बोध चुन्यो, बुद्धत्व चुन्यो। त्यही नै समयमा काम लाग्यो। अन्धा सैनिक, अन्ध ऊर्जालाई चुनेर दुर्योधनले के पायो? नोकर चाकरको भिड भयो, मालिक हरायो।

तिमी पनि जीवनमा ध्यान राख्नु किनकि १०० मा ९९ मौकामा म पनि देख्छु कि तिमी पनि दुर्योधनको गणित बाटै सोच्छौ, 'फौज - फांटा' चुन्छौ, 'एक' लाई छोडी दिन्छौ; दिनहुँ यिनै घटना घटिरहेका छन्। 'एक' तिमी भित्र लुकेको तिम्रो विवेक हो जसलाई तिमी छोडीदिन्छौ। कहिले धन चुन्छौ, कहिले घर चुन्छौ, पद चुन्छौ, प्रतिष्ठा चुन्छौ, हजारौं कुरा चुन्छौ र 'एक' लाई छोडीदिन्छौ। तिमी सोच्छौ पनि कि त्यो 'एक' मा के राखेको छ। यति विस्तार छ संसारको कि यसलाई पाउने कोशिस गर्छौ। यति ठुलो साम्राज्य छ, त्यो 'एक'लाई पाएर गर्ने के? होला आत्मा, होला विवेकको  अवस्था, होला ध्यान, होला समाधि; जाबो 'एक' नै त हो! यति विराट संसार छ अझै जित्नका लागि; पहिला यो गरौँ। त्यसपछि त्यो 'एक'लाई हेरौंला।यदि तिम्रा सामुन्ने पनि यहि सवाल उठ्यो कि तिमी एक परमात्मालाई चुन्छौ कि सारा संसार लाई, के गर्छौ तिमी? १०० मा ९९ अवस्थामा तिमी त्यही गर्छौ जो दुर्योधन ले गर्यो; र तिमी प्रशन्न हुने छौ। त्यही तिमी गरिरहेका छौ। गर्नेछौ भन्नु नै गलत हुनेछ। तिमी गरि नै यहि रहेका छौ।

तर अर्जुन धन्य भयो। कृष्णलाई पाएर उसले सब थोक पायो। मालिक पायो, स्वामी पायो। नोकर-चाकरको के अर्थ? रथ र घोडा को के मूल्य जब समयमा काम लाग्दैन भने? समयमा त यही 'एक' काम लग्यो। आवश्यक पर्दा सदा यही 'एक' नै काम लाग्छ।

युद्धको सघन मैदानमा, जब अर्जुनको प्राण कम्पित हुन लाग्यो, होस गुम्न लाग्यो, गाण्डिव थरथरानउन लाग्यो, आफु उभिएको जमिन भासिएको जस्तो लाग्यो, केहि सोच्न सकेन, चारै तिर अँध्यारो भयो। एक क्षणमा युद्ध सुरु गर्नु छ, योद्धा सबै तत्पर भईसके, शङ्खनाद भयो, किन ढिलो भयो भन्दै अर्जुनको प्रतीक्षा हुन लाग्यो। अर्जुन को काया शिथिल भयो, उसको गाण्डिव मृत भयो, मानौं उसको ऊर्जा कतै विलय भयो। अचानक उसले आफैंलाई असहाय पायो। यस क्षणमा उसलाई त्यहि 'एक' द्वारा नै ज्योति मिल्यो। त्यो क्षणमा त्यही सारथी काम लाग्यो।

आफुभित्र  खोज, को हो सारथी? ध्यानको खोज् नै सारथीको खोज्  हो। जसले तिमीलाई चलाई रहेको छ, उ नै हो सारथी। को हो असली मालिक? जवाफ अहंकार आए तिमी शिर छेउ बसेको दुर्योधन हौ। जवाफ विवेक आए तिमी पाउ छेउ बसेका अर्जुन हौ जो जीवन को सघन युद्ध मा काम लाग्छ। 

अर्जुन बन्न खोज्यौ भने कृष्णको गीता सदा तिमीमा जन्म लिन तयार छ। थोरै बल गर, थोरै ठाउँ देउ... त्यसो गर्यौ भने जसरि अर्जुन लाई गीता प्राप्त भयो त्यसै गरि तिमीलाई पनि प्राप्त हुनेछ।

(माथिको लेखनी ओशोको गीता दर्शन बारे गरिएको प्रवचनको नेपाली रुपान्तरण गर्ने मेरो सानो कोशिस हो)

Wednesday, April 1, 2020

कोरोना भाइरस



    कोभिड-१९ का कारण विश्व नै भयावह स्थितिमा पुगिसकेको छ। कोरोना भाइरसका अगाडि शक्तिसम्पन्न मुलुकहरूले समेत घुँडा टेकिरहेको अवस्थामा कोरोनाको बोलबाला कायम छ। हामी आफैँ पनि अनुमान लगाउन सक्छौँ कि जब प्रदुषण बाट बच्न प्रयोग गरिने मास्क मानिसको युनिफर्म बन्छ, संसारको स्थिति कति बेहाल होला? विश्व स्वास्थ्य सङ्गठन र विश्वका अनेक राष्ट्रहरूले आफ्नै घरमा क्वारेन्टीनमा बस्नु भन्दै बारम्बार सावधानी अपनाउनका लागि अनुरोध र खतराको चेतावनी दिइरहँदा मानिसहरू मैमत्ता साँढे झैँ घरबाहिर निस्केर अनगिन्ति चटक देखाउन उद्यत छन्। मधु, पराग, भोला, चुरोट, खैनी आदि विना एक मिनेट समय पनि कटाउन नसक्ने मानिसहरूको रवैया, मास्क लगाउँदा निसास्सिएरै मरिहालिन्छ नि भन्ने किसिमको मानसिकता, साबुनपानीले बारम्बार हात धुँदा हातै खिइन्छ जस्तो गर्ने मानिसहरूको सोचले चरम गैरजिम्मेवारीपनालाइ इङ्गित गरेको छ भने अर्कातर्फ कोरोनाले र कोरोना सम्बन्धी टपरटुइयाँ अनलाइन अनि बेकम्मा, बकम्फुसे, बज्रस्वाँठ युट्युबे पत्रकारहरूका कपोकल्पित र वाहियात विश्लेषणहरूले मानिसहरूलाइ त्राहिमामको अवस्थामा पुर्याइरहेको छ। कोरोना भाइरसका बारेमा विज्ञताभन्दा तर्कको व्यापार बढेको छ। भाइरसको परिभाषा समेत नजान्ने मानिसहरू आफूलाइ 'हरफनमौला'(All-rounder) ठान्छन् र विज्ञ डाक्टरहरूको खुट्टा तान्नतिर बढी आकर्षित भएका छन्। एक किसिमले डरको राजनीति फस्टाउँदैछ। रोगसँग भन्दा बढी के सँग डराउँछन् र मानिसहरू? मान्छे किंकर्तव्यविमूढ भएका छन्। दिगो गरी कुनै काममा टिक्न नसकी आफ्नो करियर बनाउन विफल व्यक्तिहरूले यो महामारीलाइ माध्यम बनाएर सिधा/सोझा नागरिकहरूमाथी भ्रमको खेती गर्नु अकर्मण्यताको द्योतक हो। यसै परिवेशमा रहेर यो कोभिड-१९ बारेमा केही लेख्दैछु जुन विश्लेषण होइन, बस् एउटा टिप्पणी हो। यो टिप्पणीलाइ आधार बनाएर मेरो आलोचना वा प्रंशसा नगर्नुहोला किनकी मसँग खारिएको लेख्य चेत छैन।
    सन् २०१९ को डिसेम्बर महिना सुरू भएसँगै चीनको wuhan central hospital एक अञ्जान रोगका कारण भिडाम्भिड हुन थाल्यो। महिनाको अन्त्यतिर त्यहाँ तैनाथ डाक्टर 'लि बेन लियाङ्'ले सामाजिक सञ्जालमा पोष्ट गर्दै भने कि अस्पताल पुगेका विरामीहरूमा भाइरल न्युमोनियाको लक्षण देखिन थालेको छ। चीनका स्वास्थ्य अधिकारीहरूले स्विकार गरे कि उनीहरू एक सङ्क्रामक रोग को जाँच गर्दैछन्। सुरूवाती विरामीहरूमा अधिकतर व्यक्ति यस्ता थिए जो wuhan को sea food market को सम्पर्कमा आए। बजारमा वन्य जीवहरूको मासु पनि बेच्ने गरिन्थ्यो। जनवरी १ देखि उक्त बजारलाइ बन्द गरियो। नयाँ बर्ष २०२० को आगमनसँगै चीनका स्वास्थ्य अधिकारीहरूले घोषणा गरे कि उनीहरूले रोगको पहिचान गरिसकेका छन्- नोबल कोरोना भाइरस! ६१ बर्षका एक व्यक्ति यस भाइरसले मृत्यु हुने पहिलो आधिकारीक व्यक्ति बने। तर विरामीहरूको सङ्ख्या यसअघि नै धेरै बढीसकेको थियो। चीनको सिमा बाहिर थाइलेण्डमा यसको पहिलो घटना बाहिर आयो। त्यसपछि जापानको पालो आयो। थाइलेण्ड र जापानका सङ्क्रमित व्यक्तिहरू कहिल्यै Wuhan गएका थिएनन्। यसबाट यो स्पष्ट भयो कि यो भाइरस एक विरामी व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा सर्दो रहेछ। चीन भित्र नै पनि उक्त भाइरस अन्य शहरहरूमा समेत फैलियो, मानिसहरू मास्क लगाएर हिँड्न थाले, २०० भन्दा बढी मामिलाको पुष्टि भयो। विशेषज्ञहरूले यो सङ्ख्या अझै बढ्ने चेतावनी दिए। जनवरीको अन्त्य सम्ममा Wuhan मा विरामीहरूको उपचार गर्ने मेडिकल कर्मचारीहरू समेत मदौरू भए। ताइवान र अमेरिकाबाट पनि कोरोनाका मामिला समाचार बनेर आउन थाले। अन्य धेरै मुलुकहरूमा पनि यसको प्रभाव देखियो। चीन सरकारले एकदमै शसक्त कदम चाल्दै Wuhan सँगको सम्पर्क काटिदियो। शहरमा सार्वजनिक परिवहन पनि बन्द गरियो। Researcherहरूको दावी छ कि कोरोना भाइरसको एउटा incubation period छ। भाइरसको चपेटामा परेर पनि केही दिनसम्म यसको लक्षण देखिँदैन। चीनमा Lunar New Year को सुरूवात सँगै लाखौँ मानिसहरू छुट्टीमा घुमघाम गर्न थाले। यो समयसम्म दुनियाभरीबाट २००० केसहरू पुष्टि भइसकेको थियो, ५० जना मरिसकेका थिए र WHO ले Global health emergency घोषणा गरिदियो। फेब्रुएरीको सुरूवात हुँदा पनि Wuhan लकडाउन मै थियो। चीनका धेरै ठाउँमा कोरोनाको केस पुष्टी हुँदै गयो। यस घातक विमारीको सर्वप्रथम चेतावनी दिने डाक्टर लि वेन्लियाङ् (Li Wenliang) को कोरोनाले नै ज्यान लियो। फेब्रुएरीको अन्त्यसम्ममा भाइरस दुनियाभरका कैयौँ देशमा फैलिइसकेको थियो। चीनमा विस्तारै कोराना भाइरसको सङ्क्रमण थामिन थाल्यो। १९ मार्च २०२० मा चीनमा पहिलो पटक कोरोना भाइरसको कुनै नयाँ मामिला देखा परेन।
    कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने रोग कोभिड-१९ लाइ अन्तर्राष्ट्रिय महामारी घोषणा गरिएको छ। यति हुँदा हुँदै पनि धेरैजसो मानिसहरूलाई अझै पनि यस्तो लाग्छ कि एउटा इत्रु भाइरसलाइ लिएर एकदमै बढाइ चढाइ गरेर देखाइँदैछ। वर्तमानको दर हेर्ने हो भने हरेक व्यक्तिले २-३ व्यक्ति लाइ सङ्क्रमित गरिरहेको छ। हालसम्म दुनिया भरीबाट कुल ७ लाख व्यक्ति यस रोगको सङ्क्रमणमा परिसकेका छन्।
आफ्नो रोग प्रतिरोध क्षमतामा वृद्धि गर्नु नै विशेष किसिमको शरीरको सङ्क्रमणलाइ रोक्ने सबैभन्दा असरदार उपाय हो। कुनै पनि फ्लु (flu)लाइ रोक्ने खोप (Vaccine) बनाउन भाइरसको genetic code अथवा भाइरसका कमजोर sampleहरू लिइन्छ। सामान्य परिस्थितिमा खोपले शरीरको प्रतिरोध क्षमतालाइ सक्रिय गरिदिन्छ। यसले रगतमा प्रतिरक्षक वस्तु (antibody) बनाउँछ जसले शरीरमा रहेको भाइरससँग सम्पर्कमा आउने बित्तिकै तुरून्तै जवाफी हमला गर्न मद्दत गर्छ। एउटा सुरक्षित र प्रभावकारी खोप बनाउन ८ देखि १० बर्षसम्म पनि लाग्न सक्छ तर नोबेल कोरोना भाइरसका विरूद्धमा खोप बनाउन लागिपरेका विशेषज्ञहरू भन्छन्-यदि सबै कुरा फटाफट भयो भने औषधी "निस्कनलाइ १½ देखि २ बर्ष सम्म लाग्छ।" यसबिच एन्टिभाइरस औषधीहरू सङ्क्रमित मानिसहरूको उपचारमा काम लाग्न सक्छन्? यसको जवाफमा विशेषज्ञहरू भन्छन्- नयाँ औषधीको विकासमा लाग्ने समय खोपभन्दा बढी हुन्छ। नयाँ औषधीलाइ नियामक (regulator) बाट अनुमति पत्र (license) लिन नै १० बर्ष सम्म लाग्छ र औषधी उद्योगहरूको दावी छ कि यसको विकासमा एक अर्ब युरो खर्च हुन्छ । १० मध्ये ९ औषधीहरू औद्योगिक उत्पादनको स्तरसम्म पुग्नै सक्दैनन्। परिक्षणका दौरान कतै न कतै विफल हुन्छन्। रोग विशेषज्ञहरू मान्छन् कि मलेरिया या एचआइभीका लागि विकास गरिएका औषधीहरूको संवर्धित (augmented) रूपमा धेरै सम्भावना छ र यिनिहरूको चिकित्सकीय जाँच सुरू भइसकेको छ। तर कोभिड-१९ को खोप वा औषधीका लागि केही समय पर्खनै पर्ने बाध्यता सिर्जना भएको छ। यस्तो विसम र असहज परिस्थितिमा हामीले सतर्कता अपनाउनु र यसबारेका भ्रम चिर्दै जानु नै उचित हुन्छ। द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसको श्रृङ्खलाबद्ध प्रसारण रोक्नका निमित्त संसारभरीका अनेक मुलुकहरूमा लक-डाउनको घोषणा गरिएको छ। तर जुन गतिमा यस भाइरसका जीवाणुहरू फैलँदैछन् त्यो भन्दा द्रुत गतिमा यससम्बन्धी किर्ते र अधपकी समाचारहरू समेत फैलाइएका छन्। यस्ता भ्रमपुर्ण समाचारहरूलाइ निम्न बुँदामा प्रस्तुत गर्दैछु जसको स्रोत WHO को वेवसाइट र ALJAZEERA टिभीका वेवसाइट हुन्: 
१. बारम्बार पानी पिउनाले गलामा बसेको भाइरस पखाल्छ र फोक्सोमा पुग्नबाट रोक्छ।" 
*पानी पिउँदा केही न केही फरक त पर्छ तर शरीरको प्रणालीमा घुसिसकेको भाइरसले मानिसलाई विरामी बनाइसकेको हुन्छ।
२. "रक्सी पिउँदा कोरोना भाइरस मर्छ।
" *यो भ्रम र मिथ्या हो र यही मिथ्याले इरानमा धेरै व्यक्तिहरूको ज्यान लग्यो। 
३. "फ्लुको भ्याक्सिनले कोरोना लाग्नबाट जोगाउँछ" भन्नु पनि भ्रम नै हो। 
४. "पाल्तु पशुपंक्षीबाट पनि कोरोना सर्न सक्छ।" 
*यसमा केही सत्यता भएपनि यसको कुनै ठोस प्रमाण छैन। तर पाल्तु जनावर जस्तै: कुकुर/बिरालो आदिलाइ सुम्सुम्याउँदा वा हातले छुँदा चुम्बन गर्ने प्रयास नगर्नुमा नै भलाइ छ किनकी उनीहरूको रौँ र छालामा भाइरसका जिवाणु हुन सक्छन् । त्यसैले तिनीहरूलाइ छोएर साबुनपानी अथवा स्यानिटाइजरले हात धुनुपर्छ। 
५. "तातो खाना खाने अथवा तातो झोलिलो पदार्थ पिउँदा कोरोनाको जिवाणु मर्छन्" भन्नु केही हदसम्म ठीक भएपनि यो मानिसलाइ बहकाउने मेलो हो।

(Note: All the above information about covid−19 are taken from websites of WHO, BBC, Aljazeera, DW etc.)