Saturday, March 5, 2016

मेची क्याम्पसमा वेलकम र फेयरवेल कार्यक्रम २०७२

रातको एघार बजेसम्म घरी मोबाइल अनि घरी
किताब पढेर बिहान उठ्ने बाचासहित तीन
महिनादेखि नधोएको ध्वाँसे सुपानेट झुल टाँगेर
उत्तानो परियो । निद्राले झप्झपी बनाएकाले अनेक
थरी कुराहरू तछाड-मछाड गर्दै लर्के ताँत लाग्दै आउने
अवस्था थिएन, त्यसैले होला चाँडै निदाएँछु । भन्दा
लाज लाग्छ अनि फेरि 'अलि बढी नै स्वाङ पारिस्'
भन्नुहोला तर 6:00 बजेको अलार्म लगाएको थिए ।
"वेक अप, वेक अप, इट्स अ ब्रान्ड न्यु डे"
~~मोबाइलको त्यो आवाजलाई घँसेटी लगाएर
कँचेराले पुरिएका आँखा खोल्ने प्रयास गरेँ । लगभग एक
चौथाई निद्रालाई बालै नदिई पैताला भुईँमा
टेकाएर बाथरूम गएँ । चनाको गेडा जति 'पेप्सोडेन्ट'
ब्रसमा दलेर दाँत टल्काउने काम गरेँ, मुख धोएँ, नित्य
कर्म पुरा गरेँ । फ्रेस भएर आएँ अनि खाटको एक छेउमा
बसेँ । दाजु पढ्दै थियो... मैले पनि पढ्नका लागि
किताब तानेँ । खाना बनाउने पालो दाजुको
थियो, उसले पकायो, खाइयो । अब धेरै लम्बेतान कुरा
नलेखुम् होला । पोइन्टमा प्रवेश गरौँ ।

मेची बहुमुखी क्याम्पसमा बिएस्सी प्रथम बर्षमा पढ्ने
विद्यार्थीका लागि स्वागत कार्यक्रम र विएस्सी
चौथो बर्षमा अध्ययन गर्ने दाजु-दिदीको विदाई
कार्यक्रमा राखिएको त्यो दिन म, युवराज, अरूण
दाई र बाजिगर उर्फ विनोद साढे दश बजेतिर
क्याम्पस लाग्यौँ । दाई (विष्णु) भने एकछिनपछि
सोल्टी (निरज) दाईसँगै क्याम्पस पुग्यो । कलेज
पुग्नासाथ सानो चटक देखियो । साइन्स ब्लकको
एउटा कोठामा केही दिदी र दाईहरू आफ्नो
पहिरनको ढाडपट्टी GUU GANG लेख्न लेखाउन व्यस्त
रहेछन् । हामी पनि एकतमासले उनीहरूको चटक हेर्दै
थियौँ ।केहि समयपछी अर्जुन दाई, प्रकाश दाई
लगायत अन्य सँग हात मिलाईयो । अञ्जल दाई र
पारस दाई पनि त्यहि आईपुगे । कोही कलेज
युनिफर्ममा थिए भने केहि आउट ड्रेसमा । आज GUU
GANG उत्पत्तीको रहस्योद्घाटन हुनुपर्छ भन्दै थिए ।
मैले "GUU GANG" को ओरिजिन यसरी भएको होला
भनेर एउटा तर्क दिएँ तर कसैले सुनेन जसकारण मेरा
अमुल्य विचारले वीरगती प्राप्त गरे ।

म्यानेजमेन्ट हलमा हुन लागेको उक्त कार्यक्रममा
लगभग साढे एघार बजेतिर लोसे पारामा कार्यक्रम
सुरू हुन लाग्दै थियो । कार्यक्रम आयोजना गर्ने
दोस्रो र तेस्रो बर्षका विद्यार्थी थिए । आफु तेस्रो
बर्षमा पढ्ने भएता पनि कार्यक्रम आयोजनाको
लागि सक्रिय रूपमा लागेको थिइन । त्यत्तिकैमा हल
भित्र पसियो, ओपचारिक कार्यक्रम सुरू भयो ।
उद्घोषक झुमा बहिनी थिइन । सभापति, प्रमुख
अतिथी, विशेष अतिथी लगायत सबैलाई आसन ग्रहण
गराइयो । त्यो दिन 'सुखानी शहिद दिवश' पनि
रहेछ... शहिदको सम्झनामा एक मिनेट मौनधारण
गरियो । मौनधारणका बिचैमा कसैले बिरालो
कराएको आवाज निकाले, कसैले कुकुर भुकेको । मनमा
नरमाइलो भयो । त्यसपछी राष्ट्रगानको कार्यक्रम
भने शालिन रूपमा समाप्त भयो । लगत्तै पहिलो
बर्षका भाइबहिनीहरूलाई फूल र अविरले स्वागत
गरियो । दोस्रो बर्षमा पढ्ने एक बहिनीले स्वागत
मन्तव्य प्रस्तुत गरिन् । चौथो बर्षका केपी दाईले
आफ्ना चार बर्षदेखिका मनका कुण्ठा छताछुल्ल पारे

अब अनौपचारिक कार्यक्रम सुरू भयो । भाई पेमा
तामाङ आफ्नो समकक्षी झुमासँगै उद्घोषण गर्न आए र
एउटा दमदार गजलले सबैको ध्यान खिचे, दर्शकले
उनको फोटो खिचे । उनले यति धेरै ध्यान खिचेछन्
कि पछाडीबाट तालीको पर्रा भन्दा साइ-साइ र
सुइ-सुइको ढर्रा बढी आयो । त्यसपछीको नाचगान र
गायनमा प्रतियोगिहरूले दरिलो प्रदर्शन गरेर वाह-
वाही बटुले । पछाडी बस्ने केही हुलले भने कार्यक्रममा
केही खलबली ल्यायो । आयोजक तब राम्रो
कार्यक्रम गर्न चुक्यो । सो समयमा पछाडी बस्ने
केही विद्यार्थी साथीहरूबाट बेन्च भाँच्ने काम हुनु
कलेजप्रतिको आफ्नो गैरजिम्मेवारीपनको
पराकाष्टा थियो । मान्छे भएर सुँगुरको रवैया
अपनाउनु भनेको सम्पुर्ण मानव जातीको बेइज्जती
हो । एङ्करले माइकमा बोल्दाभन्दा ठूलो आवाज
निकालेर अरूको आवाज दबाउने कोशीश पनि
कार्यक्रमका दौरान धेरै भए ।त्यही खिच्चा
प्रवृत्तिले गर्दा पनि कार्यक्रम झन्नै बिर्सनयोग्य
बन्यो । वास्तवमा वेलकम फेयरवेल जस्ता कार्यक्रम
सबै साथीहरूबिच सन्तुलन र समदुरीको सम्बन्ध
स्थापना गर्न गरिन्छ, नाकी मोजमस्ती र हो हल्ला
गर्न ।

अघिल्ला बर्षहरूमा जुन किसिमले यस्ता कार्यक्रमा
मेची क्याम्पसमा आयोजना हुन्थे, त्यसमा यति धेरै
अमिलो हुने गरी कार्यक्रम हुँदैनथ्यो । फेरि पनि
अन्त्यमा हामीले हाम्रा अग्रज दाजुदिदीबाटै केहि
सिक्नु जरूरी छ ।
दाजुदिदी हरूलाई विदाई गर्दाको क्षण भने
अविस्मरणीय रह्यो । युनिफर्ममा आएका अधिकांस
दाजुदिदीको पहिरनमा हामीले पनि केही न केही
शुभकामना छोड्यौँ । सबै जना भावुक हुनुहुन्थ्यो त्यो
मुटु चिरिएको क्षणमा । मेरो मन पनि त्यतिबेला
भक्कानिएको थियो । चार बर्षदेखि एकोहोरो
पढाईको तनाव खेपेर शरीर फतक्कै गलेका
दाजुदिदीलाई अँगालोमा लिएर सेल्फीको मलहम
लगाइयो ।
कार्यक्रमा राम्ररी सम्पन्न भयो तर कार्यक्रमका
दौरान भएका केही कमजोरीहरू हाम्रा गल्ती हुन् ।
गल्ती गर्नु अपराध होईन तर गल्तीबाट नसिक्नु
अपराध हो । त्यसैले आगामी दिनमा यस्ता गल्ती
नदोहोर्याउने प्रतिबद्धता गरौँ । :-)

1 comment:

  1. नतमस्तक बनायाे लेखन शैलीले,

    ReplyDelete