विरिङ खोला पारीपट्टीको जङ्गलको खोँचको क्षितिजमा
अड्केको रातो सूर्य क्रमश: नदीमा मान्छे डुबेझैँ डुब्छ अनि
विरिङ् खोलाले सुस्केरा लगाउँदै सूर्यलाई भन्छ - "भोली पनि
आईज है !"
यस सँगै समाप्त हुन्छ विरिङ्को आलिङ्गनमा बसेका मान्छेको
दिन अनि सुर्योदय नहुन्जेलसम्म त्यो ठाउँ चकमन्न भइरहन्छ ।
विरिङको सेरोफेरोमा बस्ने हामीहरूको जीवनशैली अरू खोला
किनारमा बस्ने मानिसहरूको भन्दा फरक छैन तर विरिङ सँग
गाँसिएका अतीतका तिता मीठा अनुभवहरू भने अरूका
अनुभूतिभन्दा अविच्छिन्न छन् ।
एक दिन बिरिङ्को चिसो हावा खाईरहँदा मेरा मनमा पनि
पुराना दिनका ताता प्रसङ्गहरू छरिएर आए । तीनै यादलाई
बढारेर बटुलबाटुल पारेँ अनि ब्लगको एउटा कुनामा मिल्काउने
सुर कस्दै स्मृतिपटलको recycle bin बाट restore गरेँ ।
म सानै थिएँ । सम्भवत: मेरा गिजामा कुकुर दाँत भन्दा परतीर अरू
दाँत पलाएका थिएनन् । खोलाको छेवैमा घाम-पानी बाट ओत
लाग्ने हाम्रो चिटिक्क परेको एउटा सानो बुकुरो थियो ।
प्राय सबैका घर त्यस्तै टाटी बेराका हुन्थे...मैँ हुँ भन्ने फगतका
दुइचार थान धनीमानी, ठूलाठालु, शोषक-सामन्तीका मुण्डा घर
पनि थिए ।
खोला किनारमा बसोवास गर्ने भएकाले 'खडेरी' शब्दकोष
भन्दा बाहिरको शब्द हो जस्तो लाग्थ्यो । पानीको दु:ख
थिएन, प्राय इनारको पानी चल्तीमा ल्याइन्थ्यो ; नभए
खोलामा गयो... जरूवा पानी~जिन्दावाद ! अहिले त मिनरल
वाटरमा पनि कोलीफर्म पाईएला भन्ने डर हुन्छ तर
त्यतिबेलाको पानी साह्रै कञ्चन, साह्रै निश्चल...त्यो पानीले
कहिल्यै पखाला लागेन, छेरपाटे लागेन, कैयौँ गुणा राम्रो पानी
खाइन्थ्यो (बेलाबेला गुह्ये खटीरा लाग्नु फरक कुरा ) ।
खोलाको तिरै-तिर आएको पानीलाई बेस्मारी केराका थम्बा,
सुपारीका बोक्रा आदिले थुनेर पानीलाई आफ्नो खेततिर लाग्ने
कुलो (पैनी)पट्टी सोझ्याइन्थ्यो । त्यही पैनी हुँदै पानी धाँजा
फाटेका खेतसम्म पुग्थे, खेतले पानी घुटुघुटु पिउँथ्यो अनि आफू
अघाएपछी अर्को खेतलाई ट्रान्सफर गर्थ्यो । वैशाख/जेठको
गर्मी सकिएपछी असार लाग्नासाथ पानी पर्न सुरू हुन्थ्यो ।
घामसँग लड्दालड्दा गलेर लामो खुईऽऽ गर्दै भुईँमा पसारिएका
बोटविरूवाहरू असार लाग्नासाथ पानीको स्पर्स पाएर जुरूक्क
उठ्थे । जेठ पन्ध्रतिर धानको ब्याड राखिन्थ्यो अनि असार
तेस्रो हप्तातिर रोपिसकिन्थ्यो । मैजारो गरिन्थ्यो ।
त्यति रोपेपछि भदौमा एकपटक धान गोडेपछि धानको खासै
चाकर गर्नु पर्दैनथ्यो, धानले छेलोखेलो हुन्थ्यो । त्यतिबेला
गाउँमा खानको अनिकाल पर्दैन्थ्यो । जाँगर चलाएर गोबर मल
हाले तीन बालीसम्म उब्जनी हुन्थ्यो । 'युरिया/डी.ए.पी/
पोटास भनेको के हो ?' कसैलाई थाहा थिएन ।
एकलाङ्गे मान्छे, त्याँ माथी बालख (बालक)... त्यसैले न जोत्नु
पर्थ्यो, न आली लाउनु/ताछ्नु पर्थ्यो, न बाउसे/ठिँगारे नै
हुनुपर्थ्यो । मेरो काम भनेको बस् उखेलेका विउ गरासम्म पुर्याउने
अनि खाजा खाने हुन्थ्यो । त्यसैले मेरो दुनियाँ अलग थियो ।
एकै दाँवलका पाँच/सात जना साथी भेला पार्न सकियो भने त
कुनै माइका लालले हामीले गर्न लाग्या उपद्रोमा समेत interfere
गर्न सक्दैनथ्यो । विरिङलाई त्यसबेला जङ्गलको हरियालीले
लपेटेको थियो, जसलाई हामी विजन घारी भन्थ्यौँ, जहाँ
सिसौका रूखहरूको झाडी थियो, जसको जरामा चरनमा लगेको
जनावरले गोब्र्याउने गर्थ्यो, जसले विरिङलाई शान्त
बनाईराखेको थियो । हामीले साथीहरूसँग चलेको, भालेजुधाई
खेलेको, मोजाको झुम्रे गोल खेलेको, लुकामारी खेलेको,
आसपास खेलेको, गुच्चा खेलेको ठाउँ नै यही हो । उपद्र्याहा बेला, कुकुरको पुच्छर बाङ्गो देख्दा पनि हाँस्ने बेला
हुन लागेको भएकाले होला साह्रै धेरै उट्पट्याङ् सुझ्थ्यो । कहिले
ब्याँगेको गोलो भएका सिसौका रूखका हाँगा तछारेर
साथीको टाउकोमाथी खसालिन्थ्यो र ब्याँगेले उसलाई
चिलेपछी ऊ हडबडाउँदै आफलविफल हुँदै कराउँथ्यो त कहिले
हल्लाखल्ला र रैलावैला गरेर दिन काटिन्थ्यो । साथीसँग
रेलाठट्टा गर्दा गर्दै कहिलेकाहीँ कुठाउँमा लात खाँदा दुखेर
भाउन्न भइन्थ्यो । खुट्टोमा कुँजो नपरुन्जेल, कुर्कुच्चो पट्पटी
नफुटुन्जेल, रानीमासु ननिस्कुञ्जेल, गलेनी नफाटुञ्जेल हाम्रो
उटपट्याङ्लाई केहिको बाधा व्यवधान हुँदैनथ्यो र हामी त्यसैमा
खुशी हुन्थ्यौँ । तर एकपटक माथीका मध्ये कुनै समस्या आए दुई
तिन महिना 'छेलो हराएको कामी' झैँ भएर बस्नुपर्थ्यो । गलेनी
फाट्दा भने 'राडी'को धुलोमा घिउ डडाएर लगाउँदा भोलीपल्टै
च्वाट्ट हुन्थ्यो । बेकाममा दौडनु, गल्नु, तर्तरी पसिना बगाउनु,
पसिना पुछ्नु,लामो सास फेर्नु अनि फेरी दौडनु हाम्रो नित्य
कर्म जत्तिकै भएको थियो ।
जे होस् यहाँको हावाको मिठास अर्कै थियो, फूलको वासना
बेग्लै थियो, चराको चिरिबिरी अनौठो थियो अनि
गोठालाको सुसेलीको रन्को उत्साहपूर्ण हुन्थ्यो, बगरमा सेतै
फुल्दै गरेका काँसका फूलको बान्की मनमोहक हुन्थ्यो,
गोठालाले ल्याउने गाईवस्तुको घाँटीमा बाँधिएका घण्टीबाट
निस्कने धून कुनै सङ्गीतकारले कम्पोज गरेको धुनभन्दा कम
हुँदैनथ्यो । कहिलेकाहीँ खेल्दा खेल्दै पेट कटक्क काट्थ्यो अनि
काँडा पन्छाउँदै, हाँगा बङ्गाउँदै, कहीँ निहुरिएर, कतै उफ्रिएर
अलि परतिर गएर बिताएर आइन्थ्यो । भुईँमै लतारिएको, हेर्दै दश
पन्ध्र पटक माटोमा पछार्दै टेकिएको, खुइलिएको, पछाडीको
भागमा र घुँडामा धागोले पुरै रफुचक्कर लगाएको अनि जिपर
चुँडिएको जिन्सको पाइन्ट लगाएर खेल्न कुदिन्थ्यो । आज आएर
ती दिनहरू स्मृतिमा मात्र छन् भने त्यो वन पनि सम्झनामै
सिमित भएको छ । वन संरक्षण सम्बन्धी संस्थागत निकायहरू
निस्क्रिय भएर, वृक्षरोपण कार्यलाई व्यापक नबनाएर,
बेरोजगारीका कारण तस्कर र माफियाहरू अवैध तरिकाले काठ
चोरी निकासी कार्यमा संलग्न भएर र ऐजन ऐजन कारणले गर्दा
आज त्यो वन हामीसामु नहुँदा गाउँ नै विद्रुप देखिन्छ ।
खोलामा घाँटीघाँटी आउने बगुवा पानीमा पौडी खेल्न साह्रै
रमाइलो हुन्थ्यो । आफ्नो काम सकेर खाजा खाएपछि केराका
दाम्चा बोकेर खोलातिर हान्निइन्थ्यो । भोटेकोशीको
र्याफ्टिङमा के मजा होला र ? जति मजा ती केराका
दाम्चामा चढेर माथीबाट सुलुलुलु बग्दै तल आउँदा हुन्थ्यो ।
दिउँसोभरी गरेको रमाइलो बेलुका निस्कन्थ्यो । एकातिर घाम
र पानी जुधेर ज्वरो आउला जस्तो हुन्थ्यो अर्कोतिर ढाड-काँध
सबैतिर घमौरा निस्कन्थ्यो । राती र मास गर्मी भयो भने त झन
घमौरा चर्केर उत्पात हुन्थ्यो । गर्मीको पनि कुनै समाधान
थिएन । विद्युत नै नभएपछी पङ्खा त कहाँ बाट हुनु, त्यहि भएर
सुपारीको फ्याक्रा हल्लायो बस्यो । त्यसबेला घमौरामा
लगाउने औषधी भनेको मकैको पिठो, सातु आदि हुन्थ्यो । कहिले
त घमौराले दुख दिइरहेकै बेला चाकमा पिलो निस्केर दुखाई सहन
नसकेर मरेतुल्य भइन्थ्यो । अझ त्यसमाथी ढुकुरमा सिन्दुरे बिझेर
कुकुरले नपाएको दुख पाइन्थ्यो । त्यस्तो बेला बूढी माउले तोरी
चपाउँदै धुलो बनाएर पिलोमा हाल्दिन्थीन् अनि मकै चपाएर
धुलो बनाउँदै मुखमा । स्कुल नजान ढीट गर्दा बाँसको
सिप्किनाले पीँडुला फुट्ने गरी भेटिन्थ्यो ।
यति सोचेर सक्दा नसक्दा इनार खन्दै गरेका मान्छेले बेल्चाले
माटो खुर्कँदै फाल्दै गरे जसरी कुटीनी बुढीले बालुवाको थुप्रो
भित्र पसेर खोलाको सुख्खा बालुवा फुत्त फुत्त बाहिर फाल्दै
गरेको लाइभ दृश्यले रोमाञ्चित तुल्यायो । यो देखेर मैले हाँस्दै
खोला किनारामा तलाउ जस्तै जमेको शान्त पानीमा सानो
ढुङ्गा मिल्काएँ जहाँबाट एउटा वृत्ताकार तरङ्ग निस्कियो जुन
ठूलो हुँदै गयो र निमेषमै बिलायो ।
No comments:
Post a Comment